स्वास्थ्य शिविरले स्थानीयवासीलाई राहत

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ १५:१८
स्वास्थ्य शिविरले स्थानीयवासीलाई राहत

रोटरी क्लव रामपुर, ज्योतिपुन्ज युवा क्लव, रोट्रायाक्ट क्लव अफ बुटवलको आयोजनामा मुटु तथा मृगौला रोगीलाई प्राथमिकता दिएर सञ्चालन गरिएको शिविरमा एक हजार २१० जनाले उपचार गराएका थिए । कालीगण्डकीवेशी, पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुरवासीले शिविरबाट स्वास्थ्य परीक्षण गराउनाका साथै निःशुल्क औषधि पनि पाएका थिए। रामपुर नगरपालिकाको समन्वयमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्र, शहीद बहुमुखी क्याम्पसको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बिशेषज्ञसहित ६० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी थिए । नगरप्रमुख रमणबहादुर थापा मुटु तथा मृगौलालाई प्राथमिकता दिएर शिविर आयोजना गरिएकाले स्वास्थ्योपचारमा स्थानीयवासीको चासो बढेको बताउनुहुन्छ । स्वास्थ्य परीक्षणका साथै रोग निदान हुने गरी उपचार गरिएकाले शिविर प्रभावकारी भएको उहाँको भनाइ छ । “पालिकाले बेला–बेलामा यस्ता शिविर सञ्चालन गर्दै आएकामा अहिले ज्येष्ठ नागरिक, बालबालिका तथा महिलालाई लक्ष्य गरी सो शिविर आयोजना गर्ने गरिएको हो”, नगरप्रमुख थापा जोड दिनुुहुन्छ । उक्त अस्पतालका अध्यक्ष एजाज अलाम स्वास्थ्यजस्तो संवेदनशील कुरामा बेवास्ता गर्दा घातक रोगको सिकार बन्नु परेकाले मुटु, मृगौलाजस्ता रोग समयमै पहिचान गरी उपचार गराउन सजग बनाउने उद्देश्यले अस्पतालले विभिन्न ठाउँमा शिविरमार्फत सेवा दिइरहेको बताउनुहुन्छ । शिविरमा स्वास्थ्य परीक्षण गराउने स्थानीयवासीको ठूलो भीड देखिन्थ्यो । रगत परीक्षण, ईसिजि, ईको, मुटु, मृगौलालगायत परीक्षणसहित औषधि पनि एउटै स्थानबाट पाएपछि उपचारका लागि अन्यत्र जाने झण्झटबाट मुक्त भएको सेवाग्राहीहरु बताउँछन् । शिविरमा सेवा पाउँदा बिरामी उत्साहित भएर लामबद्ध पालो पर्खेर बसेका थिए । सेवाग्राहीलाई समस्या नहोस् भनी आयोजकले स्वयम्सेवक परिचालन गरेकाले सेवा लिन निकै सहज भएको स्थाीयवासी अनिल भट्टराई बताउनुहुन्छ । बेला–बेलामा स्थानीयस्तरमा सञ्चालन हुने स्वास्थ्य शिविरबाट आर्थिक समस्या भएका, ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा विभिन्न पेशा, व्यावसायमा आवद्ध व्यक्तिले प्रत्यक्ष फाइदा लिनसक्ने रोटरी क्लव अफ रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ । यस्ता शिविरले स्थानीय नागरिकलाई उपचारमा सुविधा पुग्नाका साथै अकालमा ज्यान गुमाउनु पर्ने अवस्था केही हदसम्म भए पनि अन्त्य हुने स्थानीयवासी बताउँछन् । रामपुरमा मृगौलाको डायलायसिस प्रविधि नहुदा अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै यहाँ पनि डायलायसिस सेवा उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट