जाजरकोटको कुशे गाउँपालिका–५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो । उहाँले घरपरिवार, छोेराछोरीको खर्च टार्नका लागि सरुखोलाको किनारमा छाप्रो बनाएर बस्नुपरेको हो । राजगारीको कुनै माध्यम नभएपछि गन्धभ खोलामा दिनरात माछा मारेर आएको रकमबाट दैनिकी चलाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “खोलामा पहिलेजस्तो माछा पाइँदैन, माछा मार्न खोला किनारमै बास बस्ने गरेको छु । माछा मारेर भार्ममा बिक्री गर्दैआएको छु । यसकै आम्दानीले घरखर्च चलाउने गरेको छु । म र श्रीमती माछा माछौँ, छोराले बिक्री गर्छ ।” खोला किनारमा बस्नु आफ्नो रहर नभइ बाध्यता भएको गन्धर्भ बताउनुहुन्छ । “नौ जनाको परिवार माछा बिक्री गरेरै पाल्ने गरेको छु । खेतीपाती गर्न जग्गा–जमिन छैन”, उहाँले भन्नुभयो । गन्धर्भ जस्तै कालीबहादुर बादीले पनि मादल बनाउने कामबाट परिवार पाल्न नसक्ने अवस्था आएपछि छोरालाई भारत पठाइ आफू माछा मार्न सरुगाडकै किनारमा पुगेको बताउनुभयो । अहिलेसम्म नागरिकतासमेत नभएको यो परिवारसित एक टुक्रा जमिन छैन । वर्षौँदेखि माछा मार्दै र मादल बनाउँदै जीवनयापन गरिरहेका यहाँका बादी समुदायलाई सधैँ के खाने र के लगाउने भन्ने कुराले मात्र सताउने गरेको छ । माछा मारेरै जीविकोपार्जन गर्दैआउनु भएका श्याम बादी स्थानीय, प्रदेश र सङ्घीय सरकारसित जग्गा उपलब्ध गराउन माग गर्नुहुन्छ । गाउँपालिकामा जग्गाका लागि धेरैपटक पहल गरे पनि सुनुवाइ नभएको बादी समुदायको भनाइ छ । जनता आवास कार्यक्रमबाट केहीले घर बनाए पनि केहीले आफ्नो जग्गा नहुँदा घर बनाउन सकेका छैनन । “जग्गा नहुँदा घर बनाउन सकिएन”, स्थानीय प्रमिला बादीले भन्नुभयो । चालिसभन्दा बढी परिवारसिन जग्गा नभएको उहाँको भनाइ छ ।