आरनका आधुनिक साधन वितरण

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १७, २०७९ १८:0९
आरनका आधुनिक साधन वितरण

बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पङ्खा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो । उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आरनका साधन हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा नगरप्रमुख पाण्डेयले परम्परागतरूपमा आरन चलाएर जीविका चलाउँदै आएका व्यवसायीको पेसालाई निरन्तरता दिँदै स्वरोजगार बन्न मद्दत गरेको बताउनुभयो । उहाँले सीपमार्फत स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने बताउनुभयो । बुटवल उपमहानगरपालिकाका आन्तरिक स्रोतबाट बुटवलभित्र आरन व्यवसाय गरिरहेकालाई आह्वान गरी ११ जनालाई उपकरण सहयोग गरिएको रोजगार शाखाका संयोजक अरविन्द पाण्डेले बताउनुभयो । आप्रवासी परिवारलाई वित्तीय तथा मनोपरामर्श तालिम यस्तै बुटवलमा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बुटवल उपमहानगरपालिकाको नेतृत्वमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो । तालिममा सहभागी एक सय १० जनालाई बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल र प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।त्यस अवसरमा नगर प्रमुख पाण्डेयले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउँदै वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सलाई फजुल खर्चमा प्रयोग नगरी रोजगार सिर्जना र उत्पादनमूलक काममा लगाउन आग्रह गर्नुभयो । वैदेशिक रोजगारीबाट आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरी भविष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको रोजगार संयोजक अरविन्द पाण्डेले बताउनुभयो ।

  • मिसन संवाददाता
  • -