‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १७, २०७९ १९:५५
‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती नरहेको बताउनुभएको छ । सबै देशका नागरिकलाई समान नजरले हेर्दै आएको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षालाई ध्यान दिएर काम गरिएको स्पष्ट पार्नुभयो । नेपालका लागि जापानी दूतावासका द्वितीय सचिव योसिमुरा केन्जीले आफूसँग गर्नुभएको भेटवार्ताका क्रममा नायव महानिरीक्षक गुरुङले नेपाल भ्रमणका लागि सुरक्षित रहेको जानकारी गराउनुभयो । गण्डकी प्रदेशमा जापानीज नागरिकको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आउनुभएका केन्जीले गुरुङसँग गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थितिबारे जिज्ञासा राख्नुभएको थियो । जवाफमा गुरुङले सुरक्षा अवस्था सामान्य र पर्यटकका लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले कतिपय स्थानमा पर्यटक पथप्रदर्शक बिना एक्लै हिँड्दा समस्या देखिएकाले पथप्रर्दक लिएर जान सुझाव दिएको पनि बताउनुभयो । यसका साथै गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिइरहेको बताउनुभयो । पर्यटकको सुरक्षार्थ दूतावाससँग सूचना आदानप्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको जनाउँदै उहाँले जापानीज नागरिकलाई पोखरालगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिएर घुम्न पठाउन आग्रह गर्नुभयो । सचिव योसिमुराले शान्ति सुरक्षाको बारेमा जानकारी लिन पाएकोमा खुसी व्यक्त गर्दै पोखरामा माघ १ गते भएको विमान दुर्घटनाले नेपाल आउने जापानी नागरिक रोकिएको र अब सामान्य हुँदै गएपछि आउने नेपाल घुम्न आउने बताउनुभयो ।

  • मिसन संवाददाता
  • -