भवन जीर्ण बन्दा व्यापारीलाई समस्या

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १८, २०७९ १३:१२
भवन जीर्ण बन्दा व्यापारीलाई समस्या

कैलालीको टीकापुर नगरपालिका परिसर बाहिर निर्माण गरिएको व्यापारिक भवन निर्माण सम्पन्न भएको एक दशक नबित्दै जीर्ण बन्दै गएको छ । निर्माण सम्पन्न भएको एक दशक मै भवन जीर्ण भएपछि भाडामा बस्दै आएका व्यापारी त्रसित भएका छन् । गर्मीयाममा धुलो झर्ने र वर्षातको समयमा चुहिने समस्याले व्यापारी आजित बनेका हुन् । १० वर्षदेखि सोही भवनको सटर भाडामा लिएर व्यापार गर्दै आउनुभएका मदिना फेन्सी स्टोरका सञ्चालक नारायण न्यौपानेले पटकपटक नगरपालिकालाई मर्मतका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको नभएको बताउनुभयो । “दुई÷तीन वर्ष भइसक्यो भवन निकै जीर्ण बन्दै गएको छ, वर्षातको समयमा पानी चुहिने, गर्मीमा बालुवा र माटो झर्ने हुँदा सामान जोगाउनै मुस्किल छ”, न्यौपाने भन्नुहुन्छ, “सार्वजनिक सम्पत्तिमा मनोमानी गर्ने निर्माण कम्पनी र निगरानी गर्ने नगरपालिकाका इञ्जिनियरले आफ्नो घर पनि त्यस्तै बनाएका होलान् त ?” उक्त भवनमा १३ कोठा छन् । सबै कोठाको अवस्था त्यस्तै छ । छतको तल्लो भागको पलास्टर झरेर प्रयोग भएका फलामका सरिया देखिन थालेका छन् । भुइँको पलाष्टर निस्किएर खाल्डा परेका छन् । नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूले दुई वर्षदेखि भाडा नतिरेको रितुराज फेन्सी स्टोरकी सञ्चालिका रीता घिमिरे बताउनुहुन्छ । भवनकै कारण बिक्रीका लागि राखिएको सामानको बिजोग भएको भन्दै घिमिरेले भवन मर्मत सम्भार भएपछि मात्रै भाडा तिर्ने भनेर नगरपालिकालाई जानकारी गराएको बताउनुभयो । “कोठा छाडेर जान हुन्थ्यो, छाडेर पनि कता जाने ? वर्षौदेखि त्यहीँ बसेर व्यापार गरियो”, उहाँले भन्नुभयो, “अझै वर्षातको समयसम्म भवन मर्मत सम्भार नभए छाड्नुपर्ने बाध्यता नै छ, विगत जसरी बिताए पनि दिनप्रति दिन सामान जोगाउन मुस्किल हुँदै गएको छ ।”अर्का व्यापारी तिलक पुनमगरले भवन निर्माण गर्ने निर्माण कम्पनी र नगरपालिकाबाट अनुगमन गर्ने इञ्जिनियरलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माण कम्पनीको लापरबाहीका कारण भवन एक दशक नपुग्दै जीर्ण बनेको बताउनुभयो । पुनमगरले भन्नुभयो, “राज्यको करोड रुपैयाँ खर्च गरेर बनेका संरचना छिट्टै जीर्ण हुने तर तिनै इञ्जिनियरले दिएको नक्साअनुसार बनेका निजी संरचना बलिया कसरी हुन्छन् ?, खर्च त निजीभन्दा सरकारीमा बढी भएको हुन्छ ।” नगरपालिकाको राजस्व उपशाखा प्रमुख डिला उपाध्याय रेग्मीले भवनका बारेमा पटकपटक जनप्रतिनिधि र कार्यालय प्रमुखलाई जानकारी गराएको भए पनि काम अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले व्यापारीले राजस्व शाखामा पटक–पटक गुनासो ल्याएर आएको जनाउँदै त्यसलाई माथिल्लो तहमा आफूले पु¥याएको बताउनुभयो । व्यापारीबाट गुनासो आउन थालेपछि भवनको नगरपालिकाले अनुगमन गरेको छ । नगर प्रमुख रामलाल डङ्गौरा थारुले भवनको मर्मत सम्भारको नगरपालिकाले प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले केही दिनमै भवनको काम अगाडि बढ्ने आश्वासन दिनुभयो ।

  • मिसन संवाददाता
  • -