मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यकः बिजुक्छे

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १८, २०७९ २१:0४
मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यकः बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक रहेको बताउनुभएको छ ।

आज भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भाजुपोखरीको पुनःनिर्माणको स्थलगत निरीक्षण गर्दै उहाँले इतिहासका सबै कुरालाई लिपिबद्ध गर्दै लगियो भने मानव सभ्यताको विकास बुझ्न सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो देशको इतिहास अरूले नभई हामी आफँैले लेखेको हुनुपर्छ । इतिहास र भूगोलबिनाको शिक्षा अपूर्ण र अधुरो हुने भएकाले विद्यालय र कलेजमा देश–विदेशका इतिहास एवं भूगोलबारे अनिवार्यरूपमा पठनपाठन गराउनुपर्छ ।”

अध्यक्ष बिजुक्छेले विसं २०२०–२१ देखि नै भाजुपोखरी पुनःनिर्माणको चरणबद्धरूपमा उत्खनन कार्य भइरहेको बताउँदै उक्त पोखरी पनि विश्व सम्पदाकै अभिन्न अङ्ग भएकाले सांस्कृतिक एवं ऐतिहासिक महत्त्वका सम्पदाहरू समय धेरै लागे पनि मौलिक शैलीमै सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न भएसँगै पोखरी पुनःनिर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । पोखरीमा पानी भर्ने कार्यसँगै छिट्टै सर्वसाधारणका लागि पोखरी खुला हुने उहाँले बताउनुभयो ।

पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठले भाजु पोखरी नेपालकै प्राचीन सम्पदाको रूपमा रहेको उल्लेख गर्दै काठमाडौँको रानीपोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो देखि नै यो पोखरी इतिहासमा उल्लेख रहेको बताउनुभयो ।
रासस

  • मिसन संवाददाता
  • -