चितवनका आमसञ्चारकर्मीको रासस अध्ययन भ्रमण

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १९, २०७९ २१:१५
चितवनका आमसञ्चारकर्मीको रासस अध्ययन भ्रमण

चितवन जिल्लामा कार्यरत आमसञ्चारकर्मी टोलीले आज राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय आई समाचार सेवासहित विविध विषयमा जानकारी लिएको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको संयोजनमा चितवनका आमसञ्चारकर्मी सम्मिलित सो अध्ययन÷अवलोकन भ्रमण टोलीमा चितवन जिल्लासहित प्रदेश तथा केन्द्रीयस्तरका आमसञ्चारमाध्यममा कार्यरत ३३ जना पत्रकारको सहभागिता थियो । रासस पदाधिकारीसँग भएको अन्तरक्रियामा समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सञ्चारकर्मीद्वारा उठाइएका जिज्ञासाको जवाफ दिँदै मल्टिमिडियाको अवधारणासहित अघि बढिरहेको विद्यमान आमसञ्चारमाध्यमलाई सम्बोधन गर्ने गरी छिटोछरितो ढङ्गबाट सत्यतथ्य र आधिकारिक समाचार, फोटो र श्रव्यदृश्य सामग्री सम्प्रेषण गरिरहेको जानकारी दिनुभयो । पछिल्ला दिनमा राससले खोजमूलक समाचारसहित आलेख, विचार र अन्तर्वार्ता, भिजुओल समाचार सामग्री सम्प्रेषणमा जोड दिएको उल्लेख गर्दै उहाँले सङ्घीय संरचनालाई आत्मसात् गरी सेवाग्राहीको मागलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने नीति रहेको स्पष्ट गर्नुभयो । महाप्रबन्धक सिद्धराज राईले राससका स्थानीय समाचारदाताको कामकर्तव्य र नियुक्ति गर्ने मापदण्डका विषयमा जानकारी दिनुभयो । रासस भिजुअल शाखाका संयोजक एवम् नायब महाप्रबन्धक राजु शाक्यले समयको मागबमोजिम सुरु भएको भिजुअल सेवाप्रति सेवाग्राहीको आकर्षण बढेको बताउनुभयो । प्रमुख समाचारदाता उत्तम सिल्वालले राससको समाचार सङ्कलन प्रक्रिया र प्रधानसम्पादक एकराज पाठकले समाचार सेवा सम्प्रेषणको विषयमा जानकारी दिनुभयो ।दुईदिने भ्रमणमा काठमाडौँ आएको सो भ्रमण टोलीले आजै रेडियो नेपाल र नेपाल टेलिभिजनको विषयमा जानकारी लिएको र हिजो नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालसँग अन्तरक्रिया गरेको उक्त टोलीमा संलग्न टेकराज पोखरेलले जानकारी दिनुभयो । यसैगरी, काठमाडौँ महानगरपालिकाको गतिविधि र सूचना सम्प्रेषणको विषयमा जानकारी लिएको सो टोलीको आजै गोरखापत्र संस्थानका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

  • मिसन संवाददाता
  • -