कोसी प्रदेशमा लगानी भित्र्याउन प्रयासरत छौँ’

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २१, २०७९ १७:२७
कोसी प्रदेशमा लगानी भित्र्याउन प्रयासरत छौँ’

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले आफूहरु कोसी प्रदेशमा लगानी भित्र्याउनका लागि आफूहरु प्रयासरत रहेको बताउनुभएको छ । एक्स्पो संयोजक समेत रहनुभएका उहाँले एक्स्पो समापनमा बोल्दै यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताउनुभयो । “एक्स्पो अवधिभर विभिन्न तरिकाबाट प्रदेशमा लगानी भित्र्याउने प्रयास भयो, आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ । यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको छ”, उहाँले भन्नुभयो । एक्स्पो सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको थियो । एक्स्पोमा रू तीन करोड बराबरको कारोबार भएको छ भने तीन लाखभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ । समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा केही पनि छैन भन्ने तर्क हाबी हुन थालेको भन्दै यसलाई सबै मिलेर चिर्न आवश्यक रहेको बताउनुभयो । “धरान लाहुरेको सहर, फेसनको सहर, कला–संस्कृतिको सहरका रुपमा परिचित छ, धरानको चौतर्फी विकासमा सबैले हातेमालो गर्नुपर्छ ।” धरान एक्स्पोलगायतका प्रदर्शनीले उत्पादनको बजारीकरणमा सहयोग गर्ने र नयाँ उद्यमीलाई स्थापित ब्राण्डबाट अनुभव लिन सहयोग पुग्ने भएकाले यसको आवश्यकता र औचित्य बढ्दै गएको उहाँको भनाइ छ । “किमाथाङसँग जोड्ने सडक, चतरा, तमोर कोरिडोरले धरानको विकास कुरिरहेको छ । हामी आत्तिनुपर्ने अवस्था छैन”, मन्त्री किरातीले भन्नुभयो, “विकासका लागि आवश्यक बहस, विचार, विमर्श गर्दै निष्कर्ष निकाल्नुपर्छ । धरान, सुनसरी क्षेत्रको सर्वाङ्गीण विकास सम्भव छ ।” समापनमा पर्यटनमन्त्री किराती, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्मा, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक हर्षराज शाक्यलगायतले बोल्नुभएको थियो ।एक्स्पोका अतिथि मीन विश्वकर्माले धरानको विकास गर्न नसकिएको भन्दै यसतर्फ सबैले आवश्यक ध्यान दिन आग्रह गर्नुभयो । “सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन सकेनौँ । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ” उहाँले भन्नुभयो, “पर्यटन मन्त्रीले धरानको विकासमा सहयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।” प्रकृतिले धरानलाई सबै कुरा दिएको र उद्योग वाणिज्यलगायत सङ्घ संस्थाले समृद्धिका लागि निरन्तर प्रयास गरिरहेको भए पनि दलीय मतभेद–विरोध, सङ्घीय, प्रदेश सरकारको योजनभित्र धरान–सुनसरी क्षेत्र नभएको कारण यस क्षेत्रको विकास हुन नसकेको विश्वकर्माको भनाइ थियो । व्यापारिक प्रवद्र्धन गर्ने फरक उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङले आयोजक र अवलोकनकर्तालाई बधाईसहित धन्यवाद दिनुभएको थियो । उहाँले धरानमा सम्भावनाका मात्र कुरा नगरेर यहाँका समस्याबारे पनि उजागार गदैँं समाधानतिर सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले धरानको खानेपानी समस्या टार्न कोसीको पानी ल्याउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो । एक्स्पोले रैथाने उत्पादनको बजारीकरणमा पु¥याउन सहयोग गर्ने अपेक्षा गर्नुभयो । साथै अन्य स्थानका उत्पादन र उद्यमी धरान आउँदा त्यसले पार्ने सकारात्मक प्रभावको बारेमा उहाँले प्रशंसा गर्नुभयो । धरानकै उद्योगी व्यवसायीले लगानी बढाएर धरानको विकास गर्नुपर्ने उहाँको जोड थियो । “एक्स्पोले रैथाने उत्पादनको बजारीकरण र व्यवसायीकरणमा सहयोग पु¥याएको छ । त्यसबाहेक अन्य क्षेत्रका उद्यमी यहाँ आउँदा उहाँसँगै धरानमा सीप, उत्पादन, उद्यमशीलता पनि आएको छ । यसले पार्ने सकारात्मक प्रभाव सराहनीय छ”, प्रमुख साङपाङले भन्नुभयो ।धरानबाट नेपालमा श्रम संस्कृति सुरु भएको भन्दै प्रमुख साङपाङले देशभर यसको बजारीकरण गरिनुपर्नेमा जोड समेत दिनुभयो । “सबै मिलेर काम गरे मात्र समृद्ध नेपाल सम्भव छ । त्यसका लागि धरानमा श्रम संस्कृति सुरु भएको छ । यसको पनि बजारीकरण होस् भन्ने मेरो कामना छ” उहाँले भन्नुभयो । एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी एक सय ३० स्टल प्रदर्शनीमा राखिएको थियो । दश दिनसम्म चलेको एक्स्पोलाई धरान उपमहानगरपालिका र कोसी प्रदेशको विशेष सहयोग थियो ।

  • मिसन संवाददाता
  • -