पुरातात्विक नगर पनौती : सम्पदामैत्री घर बनाउन जटिलता

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २३, २०७९ १९:३७
पुरातात्विक नगर पनौती : सम्पदामैत्री घर बनाउन जटिलता

काभ्रेपलाञ्चोक, २३ फागुन (रासस) : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित पुरातात्विक क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गरेको पनि निकै वर्ष बित्यो । तर संयुक्त राष्ट्रसङ्घीय अङ्ग शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को मापदण्डको पूर्ण पालना गर्न स्थानीय घरलाई सम्पदामैत्री बनाउन जटिलता बनिरहेको छ । यसअघि सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको जनाउँदै आए पनि युनेस्कोको मापदण्डअनुसार स्थानीय घरलाई स्वरुप दिन विभिन्न कानुनीसँगै सामग्रीको उपलब्धता र आर्थिक अवस्थाको जटिलता देखिएको जनाइएको छ । ऐतिहासिक एवं पुरातात्विक तथा संरक्षित स्मारक क्षेत्र पनौती युनेस्कोद्वारा २६ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न स्थानीयले प्रक्रियाका लागि पहल गर्न नगरलाई सुझाव दिए पनि विभिन्न जटिलता देखिएको वडाध्यक्ष सविन ताम्राकारले बताउनुभयो । उहाँका अनुसार सम्पदामैत्री घर निर्माण गर्न स्थानीयवासीको पुर्जामा जमिन निकै कम देखिएकाले नक्सा पास नहुने, नगरले विभागले तोकेअनुसारको पुरानो शैलीमा घर बनाउँदा हाल महँगो पर्ने भएकाले जटिलता देखिएको हो । “संरक्षित क्षेत्रभित्रका दर्जन बढी स्थानीयसँग एक पैसा तथा दुई पैसा, दुई आनासम्मको मात्रै पुर्जा छ, जुन नगरले नक्सा पास गर्न सक्दैन”, ताम्राकारले भन्नुभयो, “पुरानो शैलीमा घर बनाउँदा हाल महँगो पर्न जान्छ, सबै स्थानीयले बनाउन सक्नुहुन्न ।” यस्तै पनौती नगरको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरातत्व विभागले दिएको मापदण्डअनुसारको पुरानो शैलीमा निजी आवास बनाउन नगरले ७ नं वडाका केही स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग पनि गरेको थियो । विभागले तोकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग दिन दिएको नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार पुरानो शैलीका विभागले तोकेअनुसारको घर बनाउँदा हाल महँगो पर्ने भएकाले पुरानो सहरको ऐतिहासिकता जोगाउन नगरले पनि सहयोग गर्न थालेको हो ।यसैबीच प्रोत्साहन रकम पाएकाले बनाएका घर सम्पदामैत्री नभएको जनाउँदै घर बनाइसकेका र निर्माणाधीन घरलाई रकम निकासा पनि रोकिएको छ । “केही घर मापदण्डअनुसारका नभएकाले हाललाई प्रोत्साहन रकम रोकिएको छ”, अधिकारीले भन्नुभयो । संरक्षित क्षेत्रअन्तर्गत हाल सम्पदामैत्री घर बनाउने सूचीकृत सङ्ख्या ८९ पुगेको छ । हालसम्म ११ घरलाई रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्साहन रकम प्रदान गरिएको नगरले जनायो । प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पनि पुरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेको जनाइएको छ । साथै पुरानै शैलीमा घर बनाउन चाहनेले झिङ्गटी, बलिया किसिमका काठ उपलब्ध गराउन तथा मर्मतसम्भारका लागि आर्थिक सहयोग उपलब्ध गराउन नगरसँग माग गर्दै आएको नगरले जनाएको छ । नगरप्रमुख रामशरण भण्डारीले युनेस्कोको मापदण्डका लागि आवश्यक प्रक्रियामा सामेल भएकाले लामो समयको प्रतिक्षापछि अब पनौती सम्पदामा सूचीकृत गराइने बताउनुभयो । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि पनि युनेस्कोको फ्रान्सको पुरातत्वविज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्ने जनाइएको छ । विश्वभर रहेका प्राचीन सम्पदाको पहिचान गरी त्यसलाई युनेस्कोले निर्धारण गरेको मापदण्ड पूरा भएपछि विश्व सम्पदाको सूचीमा राख्ने गर्दछ । यसैको सूचीमा सूचीकृत हुन काभ्रेपलाञ्चोकको पनौती लामो समयदेखि प्रक्रियामा रहेको जनाइएको हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीको विश्व सम्पदा सूचीमा राख्न २६ वर्षदेखि प्रक्रिया थालिएको विवरणले देखाएका छन् । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य दुई वर्षअघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई मात्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउनुभएको थियो । पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । नेपाल सरकारले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा सहर) धरोहरहरूलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुने नीति छ ।

  • मिसन संवाददाता
  • -