बडघर–भलमन्सा ऐन कार्यान्वयनमा

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन २५, २०७९ १४:३0
बडघर–भलमन्सा ऐन कार्यान्वयनमा

शुक्लाफाँटा नगरपालिकाले बडघर–भलमन्सा प्रथाजन्य ऐनलाई कार्यान्वयनमा ल्याएको छ । ऐन कार्यान्वयनमा आएसँगै नगरपालिकाको वडावडामा बडघर–भलमन्सा चयनको कार्य गरिएको छ । वडामा चयन भएका वडघर–भलमन्साको भेलाले नगरस्तरीय समितिलाई पूर्णता दिएका छन् । नगरस्तरीय समितिले बडघर–भलमन्सा प्रथाको संस्थागत विकास, क्षमता अभिवृद्धिलगायतलाई अगाडि बढाउनका लागि कार्ययोजना तयार गरेको बडघर–भलमन्सा समितिको सचिवालय व्यवस्थापन संयोजक हवलदार चौधरीले बताउनुभयो । “जिल्लामै वडघर–भलमन्सा प्रथालाई संरक्षण गर्न ऐन निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “ऐन निर्माण भएपछि थारु समुदायको सामुदायिक सङ्गठन तथा परम्परागत बडघर–भलमन्सा प्रणालीलाई अभिलेखीकरण, संरक्षण, प्रवद्र्धन विकास र अभ्यासलाई अगाडी बढाउन सहज हुने भएको छ ।” बडघर–भलमन्सा प्रणालीमा आदिवासी जनजातिभित्र रहेका खुना, चौधरी र राना थारु समुदायलाई समेटिएको छ । नगरपालिकाको प्रत्येक वडामा योजना छनोट गर्दा गरिने भेलामा बडघर–भलमन्सालाई अनिवार्यरुपमा उपस्थित गराई बजेट, नीति तथा कार्यक्रम बनाइने संयोजक चौधरीले जानकारी दिनुभयो । नगरपालिकाको दशौँ नगरसभाले बडघर संस्था परिचालन ऐन परित गरेपछि यस प्रथाले कानुनी हैसियत प्राप्त गरेको हो । थारु समुदायले लामो समयदेखि बडघर प्रथालाई कानुनी मान्यता दिन माग गर्दै आएका थिए । ऐनमा बडघर र भलमन्साको चयन, कार्य क्षेत्र, काम कर्तव्य अधिकार क्षेत्र, मर्यादालगायत प्रावधान राखिएका छन् । कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमविपरीत नहुने गरी काम गर्न सकिने उल्लेख गरिएको छ । थारु समुदायमा अनौपचारिकरुपमा प्रचलनमा रहेको यस प्रथाले कानुनी हैसियत प्राप्त गरेपछि बडघर भलमन्साको कार्य क्षेत्र किटान गरी हक अधिकार सुनिश्चित गरेको बडघर भलमन्सा नगर समितिका संयोजक बच्चन रानाले बताउनुभयो ।बडघर भलमन्साले गरेका कार्यको लेखाजोखाको अभिलेखीकरण मौखिकरुपमै हुने गरेको थियो”, उहाँले भन्नुभयो, “अब गतिविधिको लेखाजोखा नगरपालिकालाई प्रत्येक वर्ष बुझाउनुपर्ने भएको छ, यस कार्यले भलमन्सा बडघरको मूल्याङ्कन हुन्छ, काम गर्ने हौसल बढ्छ ।” नगरपालिकका प्रत्येक गाउँका बडघर भलमन्सा ऐनअनुसार नगरपालिकामा सूचीकृत भएका छन । जनप्रतिनिधिलाई जनश्रमदान जुटाउन निकै सकस भएका बेला बडघर भलमन्सालाई सक्रिय पारिएपछि विकास निर्माणमा यस कार्यले टेवा पु¥याएको वडा नं १२ का वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो । “विकास निर्माणमा जनसहभागिता जुटाउन यस कार्यले सघाउ पु¥याउ छ”, उहाँले भन्नुभयो, “बडघर भलमन्सासँग सहकार्य गरेर अगाडि बढ्छौँ ।” बडघर भलमन्साले जनप्रतिनिधिसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैझगडा समाधान गर्ने, गाउँ टोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउनेलगायत समुदायमा सामाजिक, सांस्कृति र आर्थिक सद्भाव कायम राख्ने कार्यमा सक्रिय सहभागिता जनाउन थालेका छन् । बडघर प्रथामा थारू समुदायमा पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यसको नेतृत्व गर्ने व्यक्तिको पद पनि बडघर र भलमन्सा भएका कारणले यसको विकास भएको पाइन्छ । थारू समुदायमा बडघर संस्था अति शक्तिशाली रहेको पाइन्छ । थारू समुदायका गाउँगाउँमा विकास निर्माण, समाजिक कार्य, विवाह, सांस्कृतिक कार्यको चाँजोपाँजो मिलाउने कार्यसँगै झैझगडाको छिनोफानो गर्नका लागि बडघर प्रत्येक वर्ष चयन हुँदै आएको छ । नगरपालिकाको नगर भेला, वडा भेलामा बडघर भलमन्साको उपस्थितिलाई अनिवार्य गरिएपछि नीति निर्माण र बजेट विनियोजनमा पहुँच पुगेको छ ।

  • मिसन संवाददाता
  • -