‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र आह्वान गरिने

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन २५, २०७९ १७:१४
‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र आह्वान गरिने

यातायात व्यवस्था विभागले ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको छ । केही महिना पहिले बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन नपरेकाले पुनः खुलाउन लागिएको हो । मागअनुसारको प्रिन्टर किन्न कसैको पनि निवेदन नपरेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिनुभयो । आवेदन परोस् भनेर बोलपत्र आह्वान गरिए पनि नपरेकाले पुनः खुलाउनु परेको उहाँले बताउनुभयो । प्रवक्ता पनेरुले भन्नुभयो, “आवेदन किन परेन भन्ने हामीलाई पनि थाहा छैन ।”हाल सञ्चालनमा रहेको ‘मास प्रिन्टर’ ले जसरी नै काम गर्ने उपकरण खरिदका लागि बोलपत्र आह्वान भएको थियो । हाल छपाइ भइरहेको कार्डको प्रकार र सञ्चालनमा रहेको उपकरणअनुसार नै माग गरिएको उहाँको भनाइ थियो । दुई उपकरण फरक–फरक हुँदा सेवा दिन नसकिने भएकाले उस्तै खालको उपकरण खरिद गर्न लागिएको हो । प्रवक्ता पनेरुले भन्नुभयो, “कार्डको गुणस्तर उस्तै बनाउन पनि समान किसिमको उपकरण आवश्यक हुन्छ ।”हाल सञ्चालनमा रहेको कार्डभन्दा नयाँ खरिद गरिने कार्डमा क्षमता फरक हुनसक्ने विभागले जनाएको छ । हाल दैनिक चार हजार पाँच सय क्षमताको उपकरण रहेकामा अब खरिद हुने उपकरणको क्षमता पाँच हजार पुग्नसक्ने अनुमान गरिएको छ । विभागमा सात लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । यो महिनाको सुरुदेखि बागमती प्रदेशले अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याए पास हुने व्यवस्था गरेको छ । यो व्यवस्थाले छाप्नुपर्ने कार्ड अझै बढ्नसक्ने देखिएको छ ।

  • मिसन संवाददाता
  • -