उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी बासिन्दा मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले संयुक्तरुपमा दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा उहाँलाई रु ५० हजार नगद प्रदान गरिएको थियो । कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा माथि उठाएको बताउनुभयो । उहाँले नगरमा खेलकुद क्षेत्रको विकासका लागि रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले बुटवलमा राष्ट्रियस्तरका खेलकुद आयोजना गर्नका लागि आवश्यक पूर्वाधार निर्माण र मर्मतसम्भार तथा संरक्षणमा बुटवलले निरन्तर काम गर्दै आएको बताउनुभयो । नगरप्रमुख पाण्डेयले बुटवललाई खेलपर्यटनका माध्यमबाट समेत परिचित गराउने गरी लाग्न खेलक्षेत्रका अगुवा र सङ्घसंस्थाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै बुटवल उपमहानगरको प्रयास उत्कृष्ट रहेको र यसमा खेलक्षेत्रको साथ रहने बताउनुभयो । खेलाडी कुशल मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताउनुभयो ।