तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार कुरुप बनेको जनाउँदै त्यसलाई हटाउनका लागि १५ दिने सूचना पनि जारी गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले बताउनुभयो । “सूचना जारी गरेको १५ दिन हुनै लागेको छ, हामीले चिठी पनि पठाएका थियौँ”, उहाँले भन्नुभयो, “कार्यालयमा पुग्दा कसैले त्यो पत्रसमेत खोल्नुभएको अवस्था छैन ।” अहिले बजारमा पुराना केवल लाइन छन् । कुनै घरमा ‘नेट’ हटाएमा तार त्यही छोड्नेजस्ता कुराले गर्दा तार अव्यवस्थित छन् । त्यसले गर्दा पनि बजार कुरुप रहेकाले आफ्ना तार आफैँ हटाउन भनि कम्पनीसँग सहमति भएको थियो । त्यहीअनुसार काम गर्ने भनी कार्यालयले चिठी पठाएको भए पनि सोहीअनुरुप काम नभएको पाइएको उहाँले बताउनुभयो । कार्यालयमा पुगेर ध्यानाकर्षण गराए पश्चात केबल नेट हटाउने प्रतिबद्धतासमेत व्यक्त गरेको भन्दै केही दिनमा हटिसक्ने प्रमुख फर्सालको भनाइ थियो । तुलसीपुर क्षेत्रमा नेपाल टेलिकम, एनसिएललगायत १२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग समन्वय गरेर काम लाग्नेलाई एकठाउँमा बाँध्ने र लामो समयदेखि काम नलाग्ने अवस्थामा रहेका तारलाई निकाल्ने भनी सहमति भएको थियो । यसअघि नेट बिग्रिने, पोल ढल्ने हुँदा मात्रै तार हेर्ने चलन थियो । त्यस्तै घरमा नेट बन्द गरे पनि त्यो तार त्यही पोलमा छोड्ने कार्य हुन्थ्यो । त्यसले गर्दा पनि बजार कुरुप बन्दै गएको उहाँले बताउनुभयो ।