छ किमी सडक कालोपत्र

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १९, २०७९ 0९:५0
छ किमी सडक कालोपत्र

दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ । त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ । यस्तै तुलसीपुर–६ प्रगतिनगर टोलको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ भने तुलसीपुर–५ को भुह्यार थानबाट पूर्वतर्फ गएको सडक एक सय ९० मिटर सडक कालोपत्र भएको छ । त्यस्तै तुलसीपुर–८ अस्वाराबाट हरियाली उद्यान जाने एक सय ५० मिटर सडक कालोपत्र भएको छ । गाउँ–गाउँमा यस्तै थुप्रै सडक कालोपत्र भएका छन् । चालु वर्षमा ४५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यअनुसार रु पाँच करोड बजेट छुट्याएको तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवनकुमार योगीले बताउनुभयो । विकास प्राधिकरणमार्फत ती सडक कालोपत्र गरिएको हो । “सबै वडामा कालोपत्र सडक पु¥याउनका लागि विकास प्राधिकरणमार्फत काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सडक कालोपत्रको काम धमाधम भइरहेको छ ।” चालु वर्षको हालसम्म छ किलोमिटर सडक कालोपत्र भइसकेको छ । विभिन्न २६ सडक कालोपत्रको काम भइरहेको उहाँले बताउनुभयो । सडक सञ्जाल नै विकासको एउटा आधार भएकाले यसको विस्तारका लागि उपमहानगरपालिका सक्रिय भएर लागेको उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । उहाँका अनुसार सडक गुण्स्तरीयतामा पनि उत्तिकै ध्यान दिइएको छ ।

  • मिसन संवाददाता
  • -