सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १९, २०७९ 0९:५३
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग अपरिहार्य हुने बताउँदै वक्ताहरूले सामुुदायिक संस्थाको महत्व नबुुझ्दा समस्या पर्ने गरेको बताए । टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस सञ्चालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभागितामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताउनुभयो । गुणस्तरीय र सङ्ख्यात्मकमा मात्र नभई असल संस्कार प्रदान गर्नेतर्फ सामुदायिक शैक्षिक संस्था लाग्नुपर्ने उल्लेख गर्दै उहाँले पछिल्लो पुस्ता संस्कारका सिकाइबाट बिमुख हुँदै गएको बताउनुभयो । बाँस्तोलाथर टोल विकास संस्थाका प्रकाश बाँस्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको जनाउँदै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने धारणा राख्नुभयो । जनकल्याण महिला समूहकी अध्यक्ष विमला परियारले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभावकको कर्तव्य पूरा नहुने बताउँदै उनीहरूको पढाइको अवस्थासँगै शिक्षकको अध्यापन शैलीबारे चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले शैक्षिक संस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने जनाउँदै सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिनेमा जोड दिनुभयो । पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताउनुभयो । कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस प्रमुख शिशुकला पराजुलीलगायतले सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएको भन्दै यसको समग्र विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । समुदायकै सहयोगमा विसं २०४४ मा स्थापित क्याम्पस हाल पोखरा महानगरपालिका वडा नं ९ शान्तिवन बाटिकामा सञ्चालन भई चारवर्षे स्नातक तहमा बिए र बिबिएस तहको अध्यापन भइरहेको छ ।

  • मिसन संवाददाता
  • -