किसानलाई कृषि उपकरण प्रदान

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १९, २०७९ 0९:५९
किसानलाई कृषि उपकरण प्रदान

बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविकमललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो । बुटवल उपमहानगरपालिका–१४ मोतीगञ्जमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्जमकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा नगरप्रमुख पाण्डेयले तिनाउ पश्चिमका वडालाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो । नगरप्रमुख पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राख्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकाले रु ११ लाख २२ हजार अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले बताउनुभयो । उहाँले मकै पकेट विकास कार्यक्रममा आबद्ध किसानलाई मल, बीउ, कृषियन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको बताउनुभयो । मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी तीन जातका हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकैखेती राम्रो उत्पादन भएको बताउनुभयो ।

  • मिसन संवाददाता
  • -