प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा उहाँले व्यक्तिव्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताउनुभयो । परिस्कृत बन्न सङ्गठित हुनु जरुरी रहेको बताउँदै उहाँले पार्टीलाई गाली गरेर बस्नुभन्दा सङ्गठित बन्दै वैचारिक बहस बढाउनुपर्नेमा जोड दिनुभयो । आगामी जेठ २ र ३ गते हुने समाजको अधिवेशनमा सबै क्षेत्र समेटेर जिल्लाबाट प्रतिनिधित्व गराउन उहाँले आग्रह गर्नुभयो । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक, आर्थिक, राजनीतिक एवं राष्ट्रिय महत्वका विषयमा समाजले स्पष्ट धारणा तयार गरी लिखितरुपमा पनि पार्टीलाई दिनुपर्ने बताउनुभयो । समाजका कास्की अध्यक्ष डा वीरबहादुर कार्कीले पछिल्ला समयमा कांग्रेसमा योगदान गर्ने ओझेलमा पर्ने गरेको बताउँदै योगदान तथा क्षमताको मूल्याङ्कन नगर्दा पार्टी सङ्गठन कमजोर बन्दै गएको बताउनुभयो । उक्त अवसरमा समाजका केन्द्रीय सचिव डा वासुदेव भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, नेपाली कांग्रेस कास्कीका सदस्य गङ्गाधर पराजुली, समाजका उपाध्यक्ष शिशुकला पराजुली, सचिव भीम न्यौपाने, कोषाध्यक्ष ज्योतिबावु पौडेल लगायतले कांग्रेसलाई वैचारिकरुपमा प्रष्ट बनाउन समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी रहेको बताउनुभयो ।