विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

  • मिसन संवाददाता
  • सोमवार, चैत्र २०, २०७९ 0९:४३
विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौँ आइपुगेका हुन् । फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतबारदेखि सुरु भएको छ । गायनतर्फ एक सय ४० र नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए । यीमध्ये अधिकांश प्रतिभा काठमाडौँ आइपुगेको फाउण्डेसनले जनाएको छ । अमेरिका र क्यानडाको फिल्ड अडिसन अमेरिका, युरोपको बेल्जियम, मध्यपूर्वको दुवइ, पूर्वी एशियाको बैंकक, अष्ट्रेलियाको सिड्नी र भारतको सिलिगुडीमा अन्तर्राष्ट्रिय फिल्ड अडिसन सम्पन्न भएका थिए भने नेपालका बुटवल, नेपालगञ्ज, दमक र काठमाडौँमा फिल्ड अडिसन भई प्रतिभा छनोट गरिएका थिए । गायनतर्फ अमेरिका र क्यानडाबाट १५, युरोपबाट पाँच, अष्ट्रेलियाबाट सात, पूर्वी एशियाको थाइल्याण्ड, फिजी, म्यानमारलगायतबाट आठ, मध्यपूर्वका खाडी मुलुकबाट सात, भारतबाट ३३ जना तथा नेपालका नेपालगञ्जबाट सात, बुटवलबाट नौ, दमकबाट २१ र काठमाडौँबाट २८ जना प्रतिभा साइटलेस अडिसनका लागि काठमाडौँ आइपुगेका छन् । झण्डै यतिकै सङ्ख्यामा नृत्यका प्रतिभा पनि ती देशबाट काठमाडौँ आएका छन् । उनीहरुलाई काठमाडौँका विभिन्न होटलमा राखिएको फाउण्डेसनले जनाएको छ । संसारभरका विभिन्न देश पुगेर त्यहाँका नेपाली प्रतिभालाई पहिचान गरी नेपाली गीत र नृत्यको प्रतिस्पर्धामार्फत उत्कृष्ट प्रतिभाको छनोट गर्ने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रमले नेपालीभाषी समुदायलाई आफ्नै संस्कृतिको एक सूत्रमा बाँध्ने प्रयास गरेको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभयो ।

  • मिसन संवाददाता
  • -