बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र २१, २०७९ १७:१९
बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी र केन्द्रीय चलचित्र जाँच समितिको तीन सदस्यमा निर्देशकद्वय भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगरलाई मनोनयन गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट मनोनयन भएसँगै बोर्ड र जाँच समितिमा रिक्त रहेको पदपूर्ति भएको छ । बोर्ड सदस्यमा नियुक्त भएपछि निर्देशक केसीले आफ्नो अनुभवलाई पूर्ण उपयोग गर्ने बताउनुभयो । ‘प्रेमपूजा’बाट अभिनय सुरु गर्नुभएका केसीले ‘धर्ती’ मार्फत निर्देशनको सुरुआत गर्नुभएको थियो । उहाँ अहिले ‘जाड’ नामक चलचित्रको निर्देशनमा व्यस्त हुनुहुन्छ । केसी अगाडि निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त हुनुभएको थियो । यस्तै, निर्देशक आचार्यले आफूले पाएको जिम्मेवारीलाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “जाँचमा देखिएको र सुनिएको समस्या समाधान गर्नेतर्फ लाग्नेछु । चलचित्र निर्देशक रहेकाले काँटछाँटका विषयमा सुनिने गुनासो कम गर्नेछु”, निर्देशक आचार्यले भन्नुभयो ।

  • मिसन संवाददाता
  • -