पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २२, २०७९ १७:१३
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास

बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवद्र्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् । नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किदै गरेका ओखरका बिरुवाले उजाड क्षेत्रमा हरियाली थप्दै गरेको किसान शेरबहादुर छन्त्यालले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय एकाइ बागलुङको सहयोगमा एक हजार सात सय दाँते ओखरका बिरुवा रोपिएको छ । छन्त्याल किसान समूहमा आवद्ध किसानले एक सय रोपनी क्षेत्रमा ओखर रोपेका हुन् । उक्त जग्गा समूहमा आबद्ध किसानकै हो । खाली जग्गामा थिङसेल जातको कलमी बिरुवा रोपेको नगरपालिकाको कृषि शाखामा कार्यरत प्राविधिक रवीन्द्र शर्माले जानकारी दिनुभयो । कलमी बिरुवाले तीन वर्षपछि उत्पादन दिने छ । “उजाड जमिन हरियाली भएको छ”, प्राविधिक शर्माले भन्नुभयोे, “बाँझो जमिनको उपयोग र किसानलाई व्यावसायिक बनाउन सहयोगी बन्ने छ ।” कार्यक्रमका लागि परियोजनाले रु १० लाख उपलब्ध गराएको थियो । बिरुवा खरिद, ढुवानी, बिरुवा रोपणका लागि खाडल खन्ने, मल व्यवस्थापन, सिँचाइ व्यवस्थापन र बिरुवा रोप्ने क्षेत्रमा रहेका रुख कटानका लागि प्रयोग हुने चेन्सो मेसिन खरिद गर्न कूल रु १७ लाख ८५ हजार खर्च भएको छन्त्याल किसान समूहका अध्यक्ष देवप्रसाद छन्त्यालले जानकारी दिनुभयो । परियोजनाले उपलब्ध गराएको रु १० लाखबाहेक अपुग भएको रकम किसानबाट सङ्कलन गरिएको थियो । समूहमा एक सय १४ किसान आबद्ध छन् । किसानले एउटा बिरुवाको रु तीन सय ५० तिरेका थिए । जमिनमा जति बिरुवा रोपिएको छ त्यसको उत्पादन त्यहीँ किसानले प्रयोग गर्ने प्राविधिक शर्माले बताउनुभयो ।

वडा कार्यालयले पनि पचास प्रतिशत अनुदानमा वडाका अन्य क्षेत्रमा एक हजार बिरुवा वितरण गरी ओखर खेती सुरु गरेको छ । बीजबिरुवा खरिद गरी अनुदानमा प्रदान गरेको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो । बीजबिरुवाले पाँच वर्षपछि उत्पादन दिनेछ । उपल्लो दमेक दाँते ओखर खेतीका लागि उपयुक्त क्षेत्र हो ।

  • मिसन संवाददाता
  • -