व्यवसायी विस्थापित हुने क्रम बढ्दै

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २३, २०७९ ११:२६
व्यवसायी विस्थापित हुने क्रम बढ्दै

दाङमा चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका हुन् । कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार बन्द भएका फार्म एक सय ३० उद्योगतर्फ र एक सय ४३ वाणिज्यतर्फका रहेका छन् । अधिकांशले व्यापारमा घाटा लागेको, परिवारका सदस्य विदेश गएकाले चलाउन नसक्ने, विदेश जाने तयारीमा रहेकालगायत कारण उल्लेख गरेको गुरुङले बताउनुभयो । कार्यालयले बन्द गराउनुको कारण खोजी गर्न थालेको उहाँको भनाइ छ । “पहिला फार्म बन्द गर्नुको कारण मौखिकरुपमा सोध्ने गरिए पनि अहिले लिखितरुपमा नै जानकारी माग्न थालेका छौँ”, प्रमुख गुरुङले भन्नुभयो । विभिन्न समस्याले गर्दा उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले बताउनुभयो । “दैनिक उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढदै गएको छ”, उहाँले भन्नुभयोे । कोभिड–१९, आर्थिकमन्दी, घर भाडा एवं बैंकको ब्याज वृद्धिजस्ता कारणले विस्थापित हुने क्रम बढेको उहाँको भनाइ छ । सरकारले समयमै समस्याको समाधान नगरे अझ धेरै उद्योगी तथा व्यवसायी विस्थापित हुने अध्यक्ष बुढाथोकी बताउनुहुन्छ । “व्यापार व्यवसाय दैनिक घट्दै गएको छ, बंैकको व्याज बढेको छ । यसले धेरै समयस्या निम्त्याएको छ”, उहाँले भन्नुभयोे । घोराहीमा मात्र करिब दुई सयभन्दा बढी सटर खाली भइसकेका छन् । यो क्रम निरन्तर बढीरहेको छ । तुलसीपुरमा क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव विनील केसीले जानकारी दिनुभयो । तुलसीपुरमा एक सयभन्दा बढी उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् । “उद्योगी व्यवसायीको यस क्षेत्रबाट अलग हुन खोजेको पाइएको छ”, उहाँले भन्नुभयो ।

देउखुरी क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम जारी रहेको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनुभयो । “भाडामा लगाइएका सटर खाली हुँदै गएका छन् । नयाँ सटर भाडामा जान सकेका छैनन्”, उहाँले भन्नुभयो ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २३, २०७९ ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट