सामुदायिक विद्यालयले पनि अङ्गे्रजी माध्यममा पठनपाठन गर्ने

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २३, २०७९ १७:३८
सामुदायिक विद्यालयले पनि अङ्गे्रजी माध्यममा पठनपाठन गर्ने

विद्यालय भर्ना अभियान तीव्र भएका बेला कञ्चनपुरका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने योजना ल्याएर विद्यार्र्थी आकर्षित गर्न थालेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयले अहिले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान नै सञ्चालन गरेका छन् । अभिभावक तथा विद्यार्थीमा निजी विद्यालयमा आकर्षण रहेका बेला सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएका हुन् । कञ्चनपुरको पुरानो सामुदायिक विद्यालय वैजनाथ माध्यमिक विद्यालयले पनि यसै शैक्षिक सत्रदेखि कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिनुभयो । “हामीले नर्सरीदेखि कक्षा ९ सम्म नै अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका हौँ ।” उहाँले यसवर्ष विद्यार्थीको सङ्ख्या थप्ने लक्ष्यसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको बताउनुभयो । हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयमा पनि निजी विद्यालयले जस्तै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन सुरु गरेको भृकुटी माध्यमिक विद्यालयका शिक्षिका विमला भट्टको भनाइ छ । “सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोलासमेत उपलब्ध गराउँदैछाँै”, भट्टले भन्नुभयो, “विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी तल्लो कक्षामा समेत अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छौँ ।” उहाँले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या बढ्न थालेको बताउनुभयो ।

महेन्द्रनगर माध्यमिक विद्यालयले पनि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्यसहित यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सुरु गरिने बताउनुभयो । “आगामी शैक्षिक सत्रदेखि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाई गर्ने भएका छौँ”, जोशीले भन्नुभयो, “अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छाँै ।” उहाँले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकशिक्षिका विद्यार्थी भर्ना अभियानमा जुटेको बताउनुभयो । कक्षा ८ सम्म सरकारले विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा रहेका र गुणस्तर सुधारका विभिन्न योजना बनाइएको उहाँको भनाइ छ । कञ्चनपुरमा दुई सय ५९ वटा सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

  • मिसन संवाददाता
  • -