सडक पूर्वाधारलगायतका विषयमा सरकारको ध्यानाकर्षण

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २३, २०७९ १७:३९
सडक पूर्वाधारलगायतका विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरुले जनसरोकारका विषय, सडक पूर्वाधार ऊर्जा सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले जनजीविकाका सम्बन्धमा देखिएका समस्याको पहिचान गरी तत्काल समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद राजेन्द्रप्रसाद लिङ्देनले भद्रपुर (झापा) भन्सार कार्यालय र रेलवे कार्यालय झुम्का (सुनसरी) ले स्थानीय जनताको पाँच हजार पाँच सय जग्गा लामोसमयदेखि रोक्का गरेको भन्दै तत्काल उनीहरुलाई मुआब्जा उपलब्ध गराउन माग गर्नुभयो । सांसद बुद्धिमान तामाङले बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रको संरक्षण र जोखिम न्यूनीकरणतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामहरि खतिवडाले ओखलढुङ्गामा खरको छानो विस्थापित गरी टिनको छानो लगाउने जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्न तथा सिद्धिचरण राजमार्गको स्तरोन्नत्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार ओखलढुङ्गामा अझै चार हजारभन्दा बढी घरमा खरका छाना छन् । सांसद राजेन्द्रकुमार केसीले काठ क्षेत्रको सडक सुधारका लागि सदनमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद माधव सापकोटाले पुँजीगत खर्च समयमा गर्न नसक्दा समस्या उत्पन्न भएको भन्दै वार्षिक क्यालेन्डर बनाएर नै पुँजीगत खर्च गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो । सांसद महेशकुमार बर्तौलाले मकवानपुरदेखि काठमाडौँसम्मको जीर्ण अवस्थामा रहेको रोपवेको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रञ्जुकुमारी झाले नागरिकताको समस्या चाँडो समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी बेठकमा सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिका अझैसम्म पनि सडक सञ्जालमा नजोडिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मेटमणि चौधरीले लुम्बिनी प्रदेशले २०७७ मङ्सिर २० गते राप्ती गाउँपालिकाका सबै वडा, गडवा गाउँपालिकाका १, २ र ३ वडा र अर्घाखाँचीको सितगङ्गा नगरपालिकाको वडा नं ८ र ९ का करिब २९ हजार जग्गा रोक्का राख्ने काम भएको र आजसम्म फुकुवा हुन नसक्दा जनता मारमा परेको बताउनुभयो । “रोक्का राखिएको जग्गाका कारण करिब २५ हजार घरका एक लाखभन्दा बढी जनसङ्ख्या प्रभावित भएका छन् । जग्गा रोक्काले स्वीकृत भएको कर्जा पनि पाउन नसकेको र किनबेच पनि हुन सकेको छैन”, उहाँले भन्नुभयो । सांसद मनबहादुर गुरुङले नेपाली काठको उपयोग र विदेशी काठको विस्थापन गर्न माग गर्नुभयो । सांसद मानवीर राईले सगरमाथा क्षेत्रको बाटो मर्मत गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मुक्ताकुमारी यादवले धनुषाको जिल्ला अस्पताल उद्घाटन हुन नसक्दा सेवा सञ्चालनमा आउन नसकेको तथा राजश्री जनक विश्वविद्यालय अस्तव्यस्त रहेकाले त्यसको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद महेन्द्रकुमार राय महोत्तरी विद्यमान नागरिकता समस्या समाधान कहिले हुन्छ भनी सभामुखमार्फत सरकारसँग प्रश्न गर्नुभयो । सांसदहरु मङ्गलप्रसाद गुप्ता, रमा कोइराला पौडेल, राजु थापा, रणेन्द्र बराली, रुपा विक, विजय सुब्बा, लीलादेवी खोक्खिम लिम्बु, मीना तामाङ लगायतले मुलुकको समयसामयिक विषयमा धारणा राख्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

  • मिसन संवाददाता
  • -