अग्निसमन यन्त्र जडान

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २४, २०७९ १७:0५
अग्निसमन यन्त्र जडान

आगलागीको सम्भावित क्षति तथा जोखिम रोक्नका लागि पूर्वी नवलपरासीको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सेवा क्षेत्रभित्र अग्निसमन यन्त्र (फायर हाइड्रेन्ट) जडानको कामलाई अगाडि बढाएको छ । गत वर्ष दुईवटा अग्निसमन यन्त्र जडान गरेको संस्थाले यस वर्ष थप चारवटा अग्निसमन यन्त्र जडान गरेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो । सेवा क्षेत्रभित्र आगलागी भएर विपद्को अवस्था आए तत्काल दमकलले पानी भरेर समयमा आगो नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले अग्निसमन यन्त्र जडानलाई संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत अभियानकै रूपमा अगाडि बढाइएको अध्यक्ष भुसालले बताउनुभयो । यसरी जडान गरिएको फायर हाइड्रण्टबाट दमकललाई आवश्यक पर्दा पानी भर्न सहज हुने छ । अध्यक्ष भुसालका अनुसार संस्थाले सेवा क्षेत्रभित्रका धारापानी चोक, कैलाशचोक, धवलागिरि चोक दलदले चोक, शान्तिदीप चोक, पृथ्वीनगर र सीतावास पानी ट्याङ्की परिसर गरेर छ स्थानमा अग्निसमन यन्त्र जडान गरिएको छ । आगलागी हुँदा दमकललाई आपत्कालीन अवस्थामा पानी भर्न असुविधा हुँदा धेरै क्षति हुनसक्ने भएकाले जतिसक्दो छिटो दमकललाई पानी उपलब्ध गराउन सक्ने गरी अग्निसमन यन्त्र जडान गर्ने योजनाअनुसार काम भइरहेको उहाँले बताउनुभयो । “यस योजनालाई हाम्रो सामाजिक उत्तरदायित्वका रुपमा समेत लिएका छौँ, सोहीअनुसार काम गरिरहेका छौँ”, अध्यक्ष भुसालले भन्नुभयो । उहाँका अनुसार सेवा क्षेत्रभित्र आगलागी भएर निभाउने क्रममा दमकलको पानी सकिएमा पाँच मिनेटको दूरीमा रहेका अग्निसमन यन्त्रबाट पानी भर्न सकिने छ ।

बीस हजारभन्दा बढी जनसङ्ख्या रहेको क्षेत्रभित्र आगलागी भएर सम्भावित जोखिम र क्षतिबाट बचाउनका लागि संस्थाले आगामी वर्ष संस्थाको सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत थप अग्निसमन यन्त्र जडान गरिने बताउँदै अध्यक्ष भुसालले अब नयाँ जडान गरिने अग्निसमन यन्त्र नयाँ प्रविधिको हुने तथा आगलागी भएमा त्यसैमा जडान गरिएको पाइपको मद्दतले पानी हाल्न सकिने गरी निर्माण गरिने बताउनुभयो । पूर्वी नवलपरासीमा आगलागी भएमा आगो निभाउन जिल्लामा रहेको कावासोती नगरपालिकाको एकमात्र दमकलको प्रयोग गर्ने गरिएको छ भने छिमेकी जिल्ला चितवनको दमकल आइपुग्दा क्षतिले ठूलो रुप लिने गरेको छ । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आगलागीको सम्भावित जोखिम रोक्न सुरु गरेको अग्निसमन यन्त्र जडानले आगलागीबाट हुने सम्भावित क्षति तथा जोखिम रोक्न एवं न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास छ ।

  • मिसन संवाददाता
  • -