एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २४, २०७९ १७:२६
एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ । साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उहाँले एक दिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिनुभयो । साझा कार्यक्रममा छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उहाँले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता एवं सांसद देवेन्द्र पौडेलले संविधान र अहिलेको राजनीतिक व्यवस्थाले जनतालाई सरकारी सेवा लिन सहज भएको र समावेशी भएको उल्लेख गर्नुभयो । हालको राजनीतिक प्रणालीलाई जोगाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । साझा न्यूततम कार्यक्रम कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले मुलुकको स्वास्थ्य क्षेत्रमा २०४६ सालको दरबन्दीमै अहिले पनि सेवा प्रवाह भइरहेको बताउँदै तत्काल सङ्घीय र प्रादेशिकस्तरमा पदपूर्ति गर्नुपर्ने बताउनुभयो । उहाँले अन्य कर्मचारीसँगै स्वास्थ्य क्षेत्रका जनशक्तिको समायोजन गरिएकाले अहिले स्वास्थ्य क्षेत्रमा कहीँ उपकरण छ, जनशक्ति छैन, कहीँ जनशक्ति छ, कहीँ उपकरण नभएको अवस्था देखिएको बताउँदै समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो ।

  • मिसन संवाददाता
  • -