हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा प्रदान उपलब्ध गराउन स्वयम्सेवी चिकित्सक परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक, फेरिचेमा दुई विदेशी र एक नेपाली चिकित्सक र मनाङ गाउँमा दुई विदेशी र एक नेपाली चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्नेछन् । ती टोलीमा सङ्घका कर्मचारीसमेत खटाइएका छन् । वसन्त र शरद ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको सङ्घले हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको छ । “गोसाइँकुण्डमा जनैपूर्णिमाको मेला भर्न गएका तीर्थयात्रीलाई लक्ष्य गरी हरेक वर्ष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ”, प्रमुख कार्यकारी अधिकृत बस्यालले भन्नुभयो । सङ्घका अध्यक्ष हरि धरेलले स्वयम्सेवी चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको जानकारी दिनुभयो । स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको सङ्घले विदेशी पदयात्रीसँग भने थोरै शुल्क लिँदै आएको उहाँले बताउनुभयो ।
सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ । कार्यक्षेत्रमा जाने चिकित्सक ‘माउण्टेन मेडिसिन’ मा दक्ष हुन्छन् । सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही, आरोहणमा सहयोग गर्ने कर्मचारी ताथ अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ । फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आइएको सङ्घका अध्यक्ष धरेलले जानकारी दिनुभयो । लेकका बारेमा सूचना दिन होर्डिङ बोर्ड राख्ने, पर्चा छपाइ गरी वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकामा सूचना छपाउने, स्कूल, कलेजका विद्यार्थीलाई तालिम प्रदान गर्नेलगायत काम गर्दै आएको सङ्घले जनाएको छ । सरोकारवालासँगको सहकार्यमा पर्यटक गाइड एवं पर्यटक सहयोगीलाई तालिम दिने तथा नेपाली सेनासँगको सहकार्यमा सफा हिमाल अभियानसमेत सञ्चालनसमेत संघले गर्दै आएको छ ।