महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा

  • मिसन संवाददाता
  • आइतवार, चैत्र २६, २०७९ २0:२९
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा

यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति रु पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो । आजभन्दा करिब पाँच वर्षअघिसम्म सेनिटरी प्याड अभावको समस्या देखाउँदै छात्रा घर जाने गरे तापनि अहिले भने सो समस्या नभएको विद्यालयका लैङ्गिक सशक्तीकरण समिति संयोजक तथा शिक्षक विनिता भट्टराईले बताउनुभयो । विद्यालयमा सेनिटरी प्याड जुनसुकै समयमा उपलब्ध हुन थालेपछि बीचमै कक्षा छाडेर घर जानेक्रम अहिले शून्यमा रहेको उहाँले बताउनुभयो । “पहिला महिनावारी हँुदा लाज र डरका कारण बताउन नसक्ने, महिनावारी भएपछि विद्यालय नआउने, विद्यालयमा आएर महिनावारी भएमा बीचमै कक्षा छाडेर घर जाने प्रचलन थियो”, शिक्षक भट्टराईले भन्नुभयो, “अहिले भने सो दर शून्यमा ल्याउन सफल भएका छौँ ।” महिनावारीका बेला केही समस्या परेमा विद्यालयभित्रै स्वास्थ्य कक्षसहित एकजना स्वास्थ्यकर्मी (नर्स शिक्षक) को व्यवस्थाका साथै जुनसुकै समयमा पनि प्याड प्रयोग गर्ने सक्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । उहाँका अनुसार एक÷एक महिनाको अवधिमा सेनिटरी प्याडलाई खाल्डोमा माटोले पुरेर राख्ने गरिएको छ । “अहिले महिनावारीको समस्या देखाएर विद्यालय नआउने समस्या छैन । छात्रा महिनावारी हुँदा निर्धक्कसँग समस्या बताएर घर जाने गरेका छन्, नियमित विद्यालय आउने वातावरण तयार पारेपछि उनीहरुमा आत्मबल बढ्नुका साथै डर, त्रास हटेको छ”, उहाँले भन्नुभयो ।

विद्यालयमा हाल ४५ शौचालय प्रयोगमा छन् । जसमध्ये पाँच छात्रामैत्री शौचालय सेनिटरी प्याड व्यवस्थापनका लागि प्रयोगमा ल्याइएको छ । सानादेखि ठूला कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको उचाइअनुसार फरकफरक खालको शौचालय व्यवस्थापन गरिएको छ ।

  • मिसन संवाददाता
  • -