कर सङ्कलन अभियान

  • मिसन संवाददाता
  • आइतवार, चैत्र २६, २०७९ २0:४३
कर सङ्कलन अभियान

विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा कर विज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गर्ने र तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय बढाउन हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क व्यक्ति तोकेको छ । तोकिएका सम्पर्क व्यक्तिले स्वयम्सेवकसँगै घरदैलोमा जाने, कर बढाउन अभियान सञ्चालन गर्ने, करको दायरामा ल्याउन करदाता शिक्षा अभियान सञ्चालन गर्नेसहित विकास निर्माणका विषयमा सहजीकरण गर्दै आएका छन् । करका विषयमा समस्या आए सम्पर्क व्यक्तिले महानगरसँग समन्वय गरेर समाधान गर्नेछन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले आन्तरिक आय वृद्धिका लागि महानगरले कर सङ्कलन अभियान सञ्चालन गरिरहेको बताउनुभयो । आन्तरिक आय बलियो नबनाएसम्म विकास निर्माणले गति लिन नसक्ने उहाँको भनाइ थियो । सो अवसरमा राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले वडास्तरमै जनप्रतिनिधिलाई सम्पर्क व्यक्ति तोक्दा कर सङ्कलन अभियान प्रभावकारी भएको दाबी गर्नुभयो ।

  • मिसन संवाददाता
  • -