बालमैत्री नगर घोषणाको तयारी

  • मिसन संवाददाता
  • आइतवार, चैत्र २६, २०७९ २0:४४
बालमैत्री नगर घोषणाको तयारी

बालमैत्री नगर घोषणाको तयारीमा नमोबुद्ध नगरपालिका जुटेको छ । बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाध्यक्षसहितको टोलीले नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर यसको तयारी र दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिनुभएको थियो । सनुवलमा विभिन्न जानकारी लिएर फर्किएको टोलीले सम्बन्धित गतिविधिलाई तीव्रता दिएको नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकास्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गरिएका छन् । सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बालअधिकार वडा समिति पुनःगठन भइसकेका छन् । नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमन गरेको छ । शिक्षासँग सम्बन्धित सूचकको अवस्थाबारे सबै विद्यालयमा अनुगमन गरिएको शिक्षा शाखा प्रमुख वुद्धिराज अर्यालले जानकारी दिनुभयो । अवस्था पत्ता लागेपछि सुधारको लागि योजना निर्माण गरिने पनि उहाँले जानकारी दिनुभयो । नगरपालिकाले आज नगरका सामुदायिक विद्यालयका बालमैत्री शिक्षक र नगरका कर्मचारीलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरिएको छ । चैत २७ गते जनप्रतिनिधि र वडा सचिवलाई बालमैत्री अभियानबारे अभिमुखिकरण गर्ने कार्यक्रम छ । बालमैत्रीसम्बन्धमा स्थानीय शासनका विज्ञ रहेका नेपाल सरकारका पूर्वसचिव रेश्मीराज पाण्डेलगायत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । घोषणाको लागि बाल बचाउ, संरक्षण, विकास, संस्थागत सहभागितासम्बन्धी ५१ सूचक पूरा गरेको हुनुपर्छ । आज अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री अभियानलाई सबै सरोकारवालाको सहयोगले सफल बनाउने अठोट व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले अभियानअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरिएको भन्दै सबै सरोकारवालाको उत्तिकै सहयोग आवश्यक भएको तर्क गर्नुभयो । —

  • मिसन संवाददाता
  • -