नगरक्षेत्रकै अधिकांश विद्यालयमा कम्प्युटर शिक्षा र प्रयोगशालाको अभ्यास हुन नसकेका बेला महोत्तरीको एउटा ग्रामीण विद्यालयले विज्ञान विषयको प्रयोगशाला अभ्यासमा ल्याएको छ । महोत्तरीको सुदूरपश्चिमवर्ती सोनमा गाउँपालिका–७ सुन्दरपुरस्थित जनता माध्यमिक विद्यालयले आजबाट विज्ञान विषयको अध्यापनमा प्रयोशाला अभ्यास थालेको हो । गत आइतबार क्वेस्ट फर्मास्युटिकल्स प्राइभेट लिमिटेड आदर्श नगर वीरगञ्ज पर्साले विद्यालयलाई विज्ञान विषयको प्रयोगशालाका उपकरण उपलब्ध गराएको थियो । “हाम्रो विद्यालयलाई गत आइतबार प्रयोगशालाका सबै उपकरण प्राप्त भएर जडान भए, हिजो बिदा थियो, आजदेखि विज्ञान विषयको अध्यापनमा विद्यार्थीलाई अभ्यास गराउन थालिएको छ”, विद्यालयका प्रधानाध्यापक लालबाबु यादवले भन्नुभयो । एउटा कोठामा प्रयोगशाला रहेको हुँदा फरकफरक कक्षाका विद्यार्थीलाई पालो मिलाएर अभ्यास गराइने तालिका बनाइएको यादवको भनाइ छ । जिल्लाको अति दुर्गम मानिने ग्रामीण भेगको विद्यालयका विद्यार्थीलाई पछिल्ला प्रविधिबारे चासो बढाउन र अध्ययनप्रति प्रेरणा जगाउन प्रयोगशाला सहयोगी हुने शिक्षकको भनाइ छ । प्रयोगशाला स्थापना भएर सञ्चालनमा आएपछि कक्षा–६ देखि माध्यमिक तहका कक्षामा विद्यार्थी उपस्थिति बढेको प्रधानाध्यापक यादवले बताउनुभयो । जिल्ला सदरमुकाम जलेश्वरबाट करिब ४० किलोमिटर पश्चिम भारतीय सीमासँग जोडिएको सुन्दरपुर शैक्षिक र अन्य विकास अवसरबाट पछि परेको ठाउँ मानिन्छ । क्वेस्ट फर्मास्युटिकल्स प्रालिले सहयोग गरेर स्थापना गरेको प्रयोगशालालाई अब आवश्यकताअनुसार समृद्ध बनाउँदै लगिने सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वरप्रसाद यादवले बताउनुभयो ।
जिल्लाका सामुदायिक विद्यालयको पठनपाठन खस्की रहेको, यस्ता विद्यालयमा आधुनिक शिक्षाका कम्प्युटर प्रणाली र विज्ञान प्रयोगशाला सञ्चालनको पक्ष अति नै पछि परेको आम गुनासो बढिरहेका बेला ग्रामीण भेगको जनता मावि सोनमा–७ सुन्दरपुरले विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विद्यालय प्रशासन र सम्बन्धित गाउँपालिकाले प्रयोगशालाको अभ्यासमा राम्ररी ध्यान दिए आपूmहरु थप सहयोग बढाउन तत्पर रहने क्वेस्ट फर्मास्युटिकल्स प्रालिका सञ्चालक पृथ्वीराज भण्डारी र महाप्रबन्धक डा कमलेश दत्तले प्रतिबद्धता जनाउनुभएको छ ।