गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख १९, २०८० १४:४८
गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्ने गिरोहका मुख्य योजनाकार पक्राउ परेका छन् ।

मंगलबार बिहान पक्राउ पर्नेमा  तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई हुन् । नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि उनिहरूले दिएको बयानका आधारमा राईलाई  उनकाे सौखेलस्थित निवासबाटै पक्राउ गरिएको  थियाे ।

सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही  ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको बयानमा खुलेको छ ।

प्रहरी हिरासतमा रहेका राईले विभिन्न चरणमा गरेर पाँच करोड रुपैयाँभन्दा बढी आफूबाट लिएको भनेर पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका छन् । गिरोहसञ्चालन र रकम असुलीमा राईको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पाइएको थियो ।

यो गिरोहलाई आफूले समेत मन्त्रालय तहमा विभिन्न कठिनाइ आइपर्दा सहयोग गरेको र गिरोहका नाइके दुलाल, भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले स्विकारिसकेका छन् । पक्राउ परेकामध्ये दुलाल तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए भने भण्डारी ऊर्जामन्त्री रायमाझीकै सहयोगी हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा  तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिक र इन्द्रजीतका छोरा निरजको नामसमेत रकम संकलनका मध्यस्थकर्ताका रुपमा आइसकेको छ ।

  • मिसन संवाददाता
  • -