खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण

  • मिसन संवाददाता
  • बुधबार, बैशाख २०, २०८० १0:५१
खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण

बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ । खजुरा गाउँपालिका–४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो । मनोरञ्जनका लागि मात्र नभई बाँकेमा पौडी खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको छ । खजुराको पर्यटन प्रवद्र्धनमा पौडी पोखरीले उल्लेख्य भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यानसहित मीठा परिकारले यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढाउने छ, जिल्लाको ग्रामीण क्षेत्रमा खोलिने यस्ता पौडी पोखरीले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छन् । यसलाई दीर्घकालीनरूपमा संरक्षण गर्न जरुरी छ ।” ‘स्वास्थ्य र सुरक्षाका लागि, खेलाडी राष्ट्रका लागि’ नाराका साथ उक्त पोखरी सञ्चालनमा ल्याइएको उद्यानका सञ्चालक टेक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पौडी पोखरी मनोरञ्जनका लागिमात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो ।” पोखरीको लम्बाइ २५ मिटर र चौडाइ १२ दशमलव पाँच मिटरको छ । उक्त पोखरीको गहिराइ तीन दशमलव पाँच फिटदेखि सात फिटसम्म छ भने बालबालिकाका लागि छुट्टै एक दशमलव पाँच फिट गहिराइको पोखरी निर्माण गरिएको छ । करिब रु दुई करोडभन्दा बढी लगानीमा पौडी पोखरी निर्माण गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ । प्रशिक्षक चन्दराम चौधरीले प्रशिक्षण दिनुहुने बताइएको छ । –––

  • मिसन संवाददाता
  • -