काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
उनलाई नेपाली नागरिक भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएपछि मंगलबार पक्राउ पुर्जी जारी भएको थियाे ।
पक्राउ पुर्जी जारी भएको थाहा भएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंमा हाजिर भएका थिए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
उनीहरुको बयान लिने क्रममा एमाले नेता रामबहादुर थापा (बादल) र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको छ ।
अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको एक अधिकृतले बताएका छन् । पाण्डेलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिने भएकाे छ ।