सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

  • मिसन संवाददाता
  • बुधबार, बैशाख २०, २०८० १६:१९
सचिव  पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उनलाई नेपाली नागरिक भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएपछि  मंगलबार पक्राउ पुर्जी जारी भएको थियाे  ।

पक्राउ पुर्जी जारी भएको थाहा भएपछि  जिल्ला प्रहरी परिसर, काठमाडौंमा हाजिर भएका थिए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयान लिने क्रममा एमाले नेता रामबहादुर थापा (बादल) र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको छ ।

अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको एक  अधिकृतले बताएका छन् ।  पाण्डेलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिने भएकाे छ ।

 

  • मिसन संवाददाता
  • -