आठ वर्षमा दुई सय बीस गैँडा मरे

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २१, २०८० ११:0१
आठ वर्षमा दुई सय बीस गैँडा मरे

बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको समयमा ५१ गैँडा मरेका छन् । यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको उहाँले जानकारी दिनुभयो । तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन् ।

आर्थिक वर्ष २०७२÷७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५÷७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो आवमा ४३ गैँडा मरेका थिए । सबैभन्दा कम आव २०७२÷७३ मा १४ गैँडा मरेको तिवारीले बताउनुभयो । तिवारीका अनुसार आव २०७३÷७४ मा २५, आव २०७४÷७५ मा २६, आव २०७६÷७७ मा २६, आव २०७७÷७८ मा ३३ र आव २०७८÷७९ मा ३७ गैँडा मरेका छन् ।

चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५÷६६ देखि आव २०७९÷८० सम्म ३२३ गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताउनुभयो । गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २१, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट