सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त सङ्गठनको पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई टिम्स कार्ड र गाईडबिना पदयात्रामा जान नपाउने नियम लागू गरेसँगै अनलाईनमार्फत टिम्स कार्ड लिने पदयात्रीको सङ्ख्या बढेको हो । टान र पर्यटन बोर्डले संयुक्त प्रदान गर्दै आएको टिम्स कार्डलाई अप्रिल १ देखि अनलाईनमार्फत वितरण गर्न थालेसँगै नौ हजार तीन सय २० पदयात्रीले टिम्स कार्ड लिएका हुन् । यस्तै, सोही अवधिमा एक हजार पाँच सयभन्दा बढी ट्रेकिङ कम्पनी टिम्समा आबद्ध भएका छन् । सरकारले टिम्स कार्ड लिएबापत पदयात्रीसँग रु दुई हजार शुल्क लिँदै आएको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोला पर्यटकको सहजताका लागि अनलाइनमार्फत टिम्स कार्ड वितरण गरिएको बताउनुहुन्छ । “पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनका लागि सरकारले अनिवार्य गाईड र टिम्स कार्डको व्यवस्था गरेको हो”, उहाँ भन्नुहुन्छ । अध्यक्ष बाँस्तोला बर्सेनि एक दर्जनभन्दा बढी पदयात्री बिना सूचना एक्लै पदयात्रामा जाँदा हराइरहेको बताउँदै पर्यटकको सुरक्षाकै लागि गाइड अनिवार्य गरिएको बताउनुहुन्छ । “पर्यटक एक्लै पदयात्रामा जाँदा र हराउँदा नेपाल पदयात्राका लागि सुरक्षित गन्तव्य हैन भन्ने सन्देश विदेशमा गएको छ, यसलाई चिर्न जरुरी छ”, अध्यक्ष बाँस्तोला भन्नुहुन्छ । टिम्स कार्ड र गाइड अनिवार्य गरेसँगै पर्यटक सुरक्षित हुने, नेपाली पर्यटक गाइडले रोजगारी पाउने, कम्पनीबाट जाँदा कम्पनीले राज्यलाई राजस्व तिर्ने भएकाले सबैलाई फाइदा हुने टानले जनाएको छ ।