एसियाका लागि नेपाल करातेको टिम छनोट

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १७, २०८० १७:४३
एसियाका लागि नेपाल करातेको टिम छनोट

काठमाडौं । नेपाल कराते महासंघले आसन्न १९औं एसियाली खेलकुदका लागि फाइनल टिम छनोट गरेको छ ।

सातदोवाटोस्थित कराते हलमा बुधबार सम्पन्न दुई दिने प्रतियोगितामार्फत कुमुतेतर्फ ३ महिला र ३ पुरुष गरी ६ जना तथा कातातर्फ १–१ जना महिला र पुरुष खेलाडी छनोट गरेको हो ।

राउण्ड रोविन लिग प्रणाली अनुसार सन्चालन गरिएको प्रतियोगितामा महिला ५० केजीमूनि तौलसमूहमा सविना श्रेष्ठ, ६१ केजीमूनि तौलसमूहमा निरुपा तामाङ र ६८ केजीमाथि तौलसमूहमा एरिका गुरुङले एसियाडको अन्तिम सूचीमा स्थान बनाएका छन् ।

पुरुषतर्फ ६७ केजीमूनि र्तालसमूहमा सन्तोष श्रेष्ठ, ७५ केजीमूनि तौलसमूहमा मोहम्मद शेख र ८४ केजीमूनि तौलसमूहमा विप्लव श्रेष्ठले एसियाली खेलकुद खेल्ने भएका छन् । विप्लव चार वर्षअघि नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् ।

त्यस्तै कातातर्फ महिलामा एलिशा रास्तकोटी र पुरुषतर्फ स्वर्णिम मानन्धरले असोजमा हुने एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

पहिलो चरणमा करिव ५० दिनको प्रशिक्षणपछि अन्तिम छनोट आयोजना गरिएको हो । आउने असोज ५–१९ सम्म चीनको होङ्झोउ शहरमा १९औं एसियाली खेलकुद आयोजना हुँदैछ ।

  • मिसन संवाददाता
  • -