तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने सम्भावना

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ १९, २०८० २१:0५
तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने सम्भावना  रहेकाे अनुमान गरेकाे छ ।

महाशाखाले शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि  देशका अधिकांश भू-भागहरुको अधिकत्तम  तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको  विश्लेषण गरेकाे हाे  ।

देशका तराई भू-भागहरूमा आगामी  पाँच दिन सम्म तातो हावा तथा लू  लाग्न सक्ने सम्भावना रहेकोले छ । उक्त लूबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

काठमाण्डौ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा अधिकत्तम  तापक्रम क्रमिक रूपमा बृद्धि भइरहेको छ। त्यस्तै देशको तराई भू-भागमामुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।

आगामी केही दिनसम्मको देशभरको तापक्रम विश्लेषण गर्दा तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ ।

साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ ।

तातो हावा तथा लू काे कारणले थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखा पर्दछ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी बस्न नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक-पटक पानी तथा झोल पदार्थ (जुससर्वतआदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसंग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनका लागि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको हाे ।

  • मिसन संवाददाता
  • -