श्रीमान सहित परिवारका सदस्यहरु मिलेर आमा छोरीको कुटपिट गरेर हत्या भएकाे आरोप

  • मिसन संवाददाता
  • शनिबार, असार १६, २०८० ११:१५
श्रीमान सहित परिवारका सदस्यहरु मिलेर आमा छोरीको कुटपिट गरेर हत्या भएकाे आरोप

काठमाडौं  । रौतहटको मौलापुर नगरपालिकामा श्रीमान सहित परिवारजनका सदस्यहरु मिलेर आमा छोरीको हत्या गरेको मृतक महिलाको माइती पक्षले गम्भीर आरोप लगाएको छ ।

मौलापुर नगरपालिका वडा नम्वर ४ बौधा पतौरा धिरेन्द्र साहको २४ बर्षिय श्रीमती माला भन्ने कविता साह र निजको २ बर्षको छोरी आरोही साहको शुक्रवार राति परिवारजनका सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेको गम्भीर आरोप माइती पक्षले लगाएको हो ।

गत तिन बर्ष अघि समाजिक रितीरिवाजको अनुसार माधवनारायण नगरपालिका ५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको विहे मौलापुर नगरपालिका ४ बौधा पतौरा गाउँका नागेन्द्र साहको छोरा धिरेन्द्र साह संग भएको थियो ।

विहे अघि कबोल गरेको दाइजो आर्थिक अवस्था कमजोर भएको कारण दिन सकिएन । मोटरसाइकल, पलंग, भैंसी, सिक्री दिन पटक पटक ज्वाईले छोरी माथि दवाव बनाउदै आएको मृतक मालाको वुवा विजयशंकरले भने । ज्वाई धिरेन्द्रको परिवारले गए राति १२ बजेको समयमा छोरीलाई निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेपछि भर्यांगमा झुण्डयाइएको तथा १८ महिने नानीलाई घरको पंखामा झुण्डयाएर मारेको उनले बताए ।

मृतक महिलाको बुवा विजयशंकरका अनुसार विहान ३ बजेको समयमा छिमेकीले फोन गरेर भन्यो तिम्रो छोरीको हत्या भएको बताए । त्यसपछि प्रहरीलाई खवर गरेर यहाँ आएको उनले भने । दाइजोको लागि मानविय धर्मलाई समाप्त पार्दै छोरी र नातीनीको हत्यामा संलग्न जो कोहीलाई हदै सम्म कारवाही गर्नुपर्ने माग उनले स्थानीय प्रहरी प्रशासन समक्ष राखेका छन् ।

दाइजोको लोभीहरुद्धारा यसरी छोरी र नातिनीको हत्या गरेर घरबाट फरार रहेका अभियुक्तहरुलाई अविलम्ब प्रहरीले पक्राउ गरी कानुनी दायरमा ल्याई हदै सम्म कारवाही गर्नुपर्ने आवाज माइतीपक्षले राख्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगर घटना भएको स्वीकार्दै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य जारी रहेको बताए ।

  • मिसन संवाददाता
  • -