आम मुस्लिम मोर्चाद्धारा ‘मुस्लिम यूनिवर्सिटी’ स्थापनाको माग

  • मिसन संवाददाता
  • बिहिबार, असार २१, २०८० १८:0६
आम मुस्लिम मोर्चाद्धारा ‘मुस्लिम यूनिवर्सिटी’ स्थापनाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाले ‘मुस्लिम यूनिवर्सिटी’ को स्थापना गर्न माग गरेको छ ।

आम मुस्लिम मोर्चाले आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । जनकपुरधाममा मोर्चाले प्रदर्शन गरेपश्चात मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

परापूर्वकालदेखी चल्दै आएको मदर्सा शिक्षालाई व्यवस्थित रुपमा संचालन गर्न छुट्रै ऐन निर्माण तथा मदर्सा बोर्ड गठन गर्नुपर्ने माग मुस्लिम मोर्चाले गरेको मोर्चाका अध्यक्ष लालबाबु मन्सुरीले बताए ।

‘…बिडम्बना आज मुस्लिमहरुको परापूर्वकाल देखी चल्दै आएको मदर्सा शिक्षा संकटमा छ । मुसलमानहरुको मौलिक संस्कृति एवं रीतिरिवाजको संरक्षण र उत्थानको सट्टा लोप भईरहेको छ । यतिमात्र होईन न्याय र समानताको सट्टा खुलेआम विभेद र निषेध गर्ने कार्य भईरहेको सन्दर्भमा त्यसलाई रोक्न र संविधानत्त पाएको अधिकारलाई व्यहवारत्त प्रत्याभूति गराउँन माग गर्दछौं’ मुस्लिम मोर्चाले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मुसलमानलाई राज्यको हरेक अंग र निकायमा बिशेषाधिकारको व्यवस्था गर्नुपर्ने, इस्लाम धर्मावलम्बीहरुको पर्वहरुमा सार्वजनिक बिदा राष्ट्रिय कैलेण्डरमै समाहित गर्नुपर्ने, इस्लाम धर्म र संस्कृतिको सम्बर्दनका लागि प्रयाप्त बजेटको व्यवस्था गर्नुपर्ने माग मोर्चाले गरेको छ ।
यसैगरी बिभेद र उत्पीडनको शिकार भएका गरिब मुस्लिम परिवारलाई आवास र रोजगार सहित राहतको व्यवस्था गर्नुपर्ने, मुस्लिमहरु माथि हुने धार्मिक तथा जातीय हिंसा रोक्न बिशेष पहल गर्नुपर्ने लगायतका माग मोर्चा गरेको छ ।

  • मिसन संवाददाता
  • -