नेपालमा नार्कले यसरी गर्यो पहिलोपटक फूलका जातको विकास

  • मिसन संवाददाता
  • शुक्रबार, साउन १९, २०८० १७:१७
नेपालमा नार्कले यसरी गर्यो पहिलोपटक फूलका जातको विकास

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहिलोपटक फूलका जातको विकास गरेको छ । नार्क अन्तर्गतको कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले प्रस्तावित गरेका ग्लाडियोस (तरवारे) फूलका तीनवटा जातहरु लुम्ले ग्लाडियोलस १, लुम्ले ग्लाडियोलस २ र लुम्ले ग्लाडियोलस ३ का नामले उन्मोचित भएका हुन् ।
ती जातको उन्मोचन गराउन मुख्य भूमिका खेलेका कृषि अनुसन्धान निर्देशनालयका निवर्तमान निर्देशक एवम् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार उक्त जातहरु १२ वर्ष अघिदेखि अनुसन्धानका क्रममा रहेपनि वि. सं. २०७९ को असारमा तिनलाई उन्मोचनका लागि सिफारिस गरिएको थियो । २०८० को बैसाख १८ गतेको राजपत्रमा प्रकाशित भएपछि व्यावसायिक उत्पादनका लागि उन्मोचन भएका हुन् ।
डा. उपाध्यायले उक्त जातहरु विकास गर्नमा निर्देशनालयका निवर्तमान निर्देशक एवम् मुख्य वैज्ञानिक डा. तुलबहादर पुुनले करिब १० वर्ष लगाएर अनुसन्धान गरेको र उहाँ निवृत्त भएपछि २ बर्ष केही थप अनुसन्धान गरी त्यसलाई पूर्णता दिएको बताए ।
डा. पुनले सन् २०१० तिर विभिन्न श्रोतबाट तरवारे फूलका जातहरु संकलन गरी तिनको क«स गराई विभिन्न समयमा लुम्ले, दैलेख, पारिपात्ले, खुमलटार र मालेपाटनका फार्महरुमा कार्यरत अनुसन्धानकर्ताहरुको सहयोगमा तिनको परीक्षण गरी प्रमाणित गर्न धेरै मेहनत गरेको तर समयाभावका कारण उन्मोचन हुनुअघि नै सेवा निवृत्त भएपछि ती जातमा मलखादको मात्रा, रोग र कीराका तथ्यांक, आर्थिक लेखाजोखा, किसानका प्रतिकृयाका भिडियोहरु संकलन, वीउ बृद्धि, केही अनुसन्धान स्थलमा थप प्रमाणीकरणका काम पूरा गरी उन्मोचन गराउन सफल भएको कुरा डा. उपाध्यायले बताए ।
ती जातहरुको अनुसन्धानमा संलग्न लुम्लेका एक अनुसन्धानकर्ता चन्द्रकान्त तिमिल्सनाका अनुसार यी जातहरुको फूलको रंग आकर्षक, गाँज र गाना धेरै आउने, फूल टिपेपछि एक हप्ताभन्दा बढी राख्न सकिने, फूलका कोपिला क«मिक रुपमा फकि«ने, कम मलिलो जमीनमा पनि खेती गर्न सकिने र थोरै जमीनबाट धेरै आम्दानी लिन सकिने बिशेषता छन् ।
ती जातहरुलाई आफ्नै जग्गामा परीक्षण गर्दाको अनुभव सुनाउँदै कास्की लाहाचोकका किसान गणेश अधिकारीले भने, उक्त जातहरुमा प्रति डाँठ धेरै फूल लाग्ने हुनाले फूलका लामा र आकर्षक गुच्छा बनाउन यी फूल उपयोगी छन्, यिनको माग बजारमा बढ्ने सम्भावना पनि छ तर यिनको प्रचारप्रसार, बीउ उत्पादन, फूल उत्पादक र बजारलाई जोड्न भने मेहनत गर्नुपर्नेछ ।
यी जात विकासका मुख्य अनुसन्धानकर्ता डा. तुलबहादुर पुनका अनुसार यी जातहरु उच्च पहाडदेखि तराईसम्म स्थान अनुसार विभिन्न समयमा लगाउन सकिने हुनाले नेपालमा ठूलो परिमाणमा भइरहेको कट फ्लावरको आयात विस्थापनमा यी जातहरुले भूमिका खेल्न सक्छन् । डा. पुनले यी जातहरुको विकासको क्रममा आफु पटकपटक विभिन्न कार्यालयमा सरुवा हुनुपर्दा ती जातहरु जोगाउन र अनुसन्धानलाई निरन्तरता दिन धेरै मेहनत गर्नुपरेको तर अन्ततः अहिले आएर यी जातहरु उन्मोचन भएकोमा यसको निरन्तरता दिने अनुसन्धानकर्ताहरुलाई धन्यवाद दिंदै यसबाट आफू अत्यन्त हर्षित भएको बताए ।

नेपालमा नार्कले विकास गरेका खाद्यान्न, तरकारी र फलफूल बालीका धेरै जातहरु उन्मोचन भएपनि फूलका जातको विकास गरी उन्मोचन भएको यो पहिलोपटक हो ।

  • मिसन संवाददाता
  • शुक्रबार, साउन १९, २०८० १७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट