अमरेशको ‘बार्गेनिङ्ग’ : प्रधानमन्त्रीले राजीनामा नदिए प्रमाण निकाल्छु !

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १४:0३
अमरेशको ‘बार्गेनिङ्ग’ : प्रधानमन्त्रीले राजीनामा नदिए प्रमाण निकाल्छु !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालमाथि रकम उठाएको आरोप लगाइरहेका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले राजीनामा दिए प्रमाण सार्वजनिक गर्ने बताएका छन्।

प्रमाणको सुरक्षा मुख्य कुरा भएकाले आफू अहिले प्रमाणको सुरक्षा गर्नतिर लागेको पनि जिकिर गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘मसँग चारजना बढीको प्रमाण छ। अदालतको प्रक्रिया हेर्दै छु। प्रमाणहरू सुरक्षित भएपछि पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्छु।’

उनले प्रमाणको सुरक्षाका लागि पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क गरेका छन्। उनले लेखेका छन्, ‘म सार्वजनिक गर्छु, प्रधानमन्त्रीले के राजीनामा दिनुहुन्छ? प्रधानमन्त्रीले राजीनामा दिएर आए म पनि प्रमाणहरू सार्वजनिक गर्छु। प्रमाणहरू नरहने र राजीनामा पनि नआउने अवस्था हुन सक्छ। त्यसैले पहिले प्रमाणहरू सुरक्षित गर्नेतर्फ लागेको छु।’

सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार भई गत वर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका सांसद सिंहले आफू लडाइँबाट पछि नहट्ने पनि स्पष्ट पारेका छन्। ‘म कुनै टीके प्रथाबाट सांसद बनेको होइन। स्वतन्त्ररूपमा चुनाव जितेर आएको हुँ। म संसद र संसदीय समितिमा लड्दै छु। अर्को अदालतमा कानुनी लडाइँ लड्दै छु। सञ्चारमाध्यमबाट जनतामा लड्दै छु, कुरा पुर्‍याउँदैछु।’

कतिपय माओवादी कार्यकर्ताले भने अमरेशले प्रमाण सार्वजनिक नगरेर ‘बार्गेनिङ्ग’ गरेको बताउदै आएका छन् । नेपाली कांग्रेसले सांसद बन्न टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरी सर्लाहीबाट प्रतिनिधिसभा सांसद बनेका व्यक्ति हुन्– अमरेशकुमार सिंह । उनी अहिले एनसेल प्रकरणदेखि भ्रष्टाचारविरुद्धको आवाज उठाएर चर्चामा छन् । एनसेल प्रकरणमा सर्वोच्च नै पुगेका सिंहले प्रधानमन्त्री प्रचण्ड पुत्रीदेखि सचिवालयका सदस्यले व्यापारीबाट घुस लिएको सार्वजनिक गरेपछि यो विषयमा थप चर्चा भइरहेको छ । तर, उनले ठोस प्रमाण सार्वजनिक गरेका भने छैनन् । एनसेलदेखि विभिन्न भ्रष्टाचार प्रकरणमा खरो पेश हुने अमरेशले सार्वजनिक गर्ने भनेको प्रमाण किन लुकाई राखेका छन् ? के उनले दाबी गरेजस्तै प्रधानमन्त्रीको सचिवालय यस्तो कर्ममा सहभागी छ ?

एनसेलको अस्वभाविक सेयर खरिदबिक्रीपछि मुलुकको राजनीतिक वृत्तमात्रै नभएर सिंगो समाज नै तरङ्गित बनिरहेको छ । एनसेलको सेयर खरिदबिक्रीबारे पत्रकार सम्मेलन नै गरेर ठूलो घोटालाको आशंका व्यक्त गरेका सिंहले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’माथि प्रहार गर्न थालेका छन् । व्यापारीहरुबाट प्रचण्ड पुत्री गंगा दाहाल र स्वकिय सचिवले घुस रकम लिएको प्रमाण आफूसँग भएको दाबी गरेका सिंहले आवश्यक परे सार्वजनिक गर्ने चेतावनी नै दिएका छन् । तर, चेतावनी दिदै हिडेका सिंहले किन यो विषय रहस्यमयी बनाउन खोज्दैछन् ? धेरैले मेसो पाउन भने सकेका छैनन् । सिंहले यस्तो दाबी गरेपछि माओवादी केन्द्रका नेताहरुले आक्रोश व्यक्त गर्दै प्रमाण पेश गर्न चुनौति दिएका छन् । प्रमाण पेश नगरे कारबाही भोग्न तयार हुनुपर्ने उनको चेतावनी छ ।

सिंहले एनसेलदेखि भ्रष्टाचार प्रकरणमा बलियो ढंगले पेश हुने गरेका छन् । केहि समय पहिले पनि सिंह संसदमै निर्वस्त्र हुन खोजेका थिए ।कांग्रेसबाट कारबाही भोगेका अमरेशमाथि कतिपयले मन्त्री बनाउन प्रधानमन्त्री राजी नभएपछि अनेक लान्छना लगाउन लागिपरेको आरोप समेत लगाउने गरेका छन् । सधै झैं अटेन्सन सिकर जसरी उनले फण्डा झिकेका रहेछन् भने यसले उनी आफै संकटमा फस्दै जाने देखिन्छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, मंसिर २९, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट