२० सांसद चीन उडे

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १२:२३
२० सांसद चीन उडे

संघीय संसद्का सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेको छ। नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट मध्यान्ह छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो। १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौँ फर्कने कार्यक्रम छ।

भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एकजना छन्।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो। चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने कार्यतालिका छ। टोलीमा कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा छन्।

एमालेबाट दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने पनि टोलीमा छन्। उता माओवादी केन्द्रबाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी पनि चीन गएका छन्। भ्रमण टोलीमा संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन्।

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्