रुपन्देहीमा प्रहरीले थाल्यो ‘क्लिन स्विप अप्रेशन’

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० ११:४९
रुपन्देहीमा प्रहरीले थाल्यो ‘क्लिन स्विप अप्रेशन’

प्रकाश न्यौपाने, रुपन्देही । अपराध नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न भन्दै रुपन्देही प्रहरीले संचालन गरेको ‘क्लिन स्विप अप्रेशन’ अभियानबाट चोरी, लागूऔषध प्रयोग तथा ओसारपसारकर्ता र फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । २४ सै घण्टा जिल्लाभर रहेका कार्यालयबाट छुट्टाछुट्टै प्रहरी टोली‘क्लिन स्विप अप्रेशन’ खटिएका छन् । यस अभियानले आपराधिक गतिविधिमा नियन्त्रण बढेको छ ।

पुस १ गतेदेखि रुपन्देही प्रहरीले ‘क्लिन स्विप अप्रेशन’ सुरु गरेको छ । अभियान सुरु गरेको डेढ हप्तामै प्रहरीले चोरीका मोटरसाइकल, त्यसमा संलग्न मानिस, फरार प्रतिवादी र लागूऔषध ओसारपसार र प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । डेढ हप्ताको अवधिमा चोरीका २३ वटा मोटरसाइकल पक्राउ गरिएको छ भने त्यसमा संलग्न ८ जना मानिस समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुविरुद्ध चोरीसम्बन्धी ४ वटा मुद्दा अदालतमा दर्तासमेत भएका छन् । प्रहरीका अनुसार मोटरसाइकल चोरी गरी कतिपय भारततर्फ बिक्री गर्ने र केही नेपालमै विक्री गर्ने गरिएको छ । चोरीमा संलग्न केही पेसेबर छन् ।

प्रहरीले अभियानका क्रममा ४३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर, ६ एम्पुल डाइजेजाम, ६८ एम्पुल फेनार्गन, ८ एम्पुल तालजेसिक, ५९ एम्पुल सेरिज्याक, आईपीपीएल ६० एम्पुल, प्रोक्सीको स्पास १६ क्याप्सुल बरामद गरेको छ । उक्त लागूऔषध प्रयोग र ओसारपसारमा संलग्न ९ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । लागूऔषधका ७ वटा मुद्दा जिल्ला अदालतमा दर्ता गरेको छ । यस्तै,प्रहरीले १ सय २ जना फरार प्रतिवादी तथा अदालतबाट सजाय तोकिएका व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका मानिसहरुलाई कारागार चलान गरिएको छ । उनीहरुबाट १९ वर्ष ११ महिना १७ दिन कैद भुक्तान र १२ लाख ८२ हजार ७११ रुपैयाँ जरिवान असुल उपर हुने प्रहरीले जनाएको छ ।

प्रहरीले संचालन गरेको अभियानले अपराध नियन्त्रणसँगै शान्ति र समतामूलक समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कतिपय अवस्थामा साथीभाइको लहलहै र परिवारको बेवास्ताका कारण युवापुस्ता लागूऔषध ओसारपसार तथा प्रयोग र चोरी जस्ता गलत क्रियाकलापमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसका लागि घरपरिवारले आफ्ना छोराछोरीको गतिविधि नियाली गलत बाटोमा जानबाट रोक्नुतर्फ ध्यान दिनपर्ने देखिन्छ । होइन् भने समाजमा केही गरेर छाप छाड्ने उमेरमा आफ्ना सन्तान कानूनले बर्जित गरेको काममा फसेर दुःख पाउन सक्छन् । यसतर्फ अभिभावक सचेत हुनुपर्छ नै युवापुस्तासँगै जुनसुकै उमेरका व्यक्तिले कानूनविपरीत क्रियाकलाप गरे एक न एक दिन कानूनको कठघरामा उभिनुपर्छ भन्नेतर्फ ध्यान दिन जरुरी छ ।

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट