नगर अस्पतालको बिजोग : जगमै १ करोड, भवनको छैन पत्तो !

  • मिसन संवाददाता
  • आइतवार, पुस १५, २०८० १२:0५
नगर अस्पतालको बिजोग : जगमै १ करोड, भवनको छैन पत्तो !

सुशील ढुङ्गाना, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा करोडौ रकम खर्च गरेर निर्माण थालिएको नगर अस्पताल अलपत्र परेको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधीहरुले हचुवाको भरमा अस्पतालको शिलन्यास गर्दा र यो कार्यकालका जनप्रतिनिधीहले वेवास्ता गरेका कारण अस्पताल निर्माण कार्य अलपत्र परेको हो ।

यो हो कैलालीको घोडाघोडी नगरपालिकाले करोडौ रकम खर्च गरेर निर्माण सुरु गरेको १५ शैयाको नगर अस्पताल । ठेकेदारसंगको सम्झौता अनुसार यो अस्पताल निर्माण गरिसक्नु पर्ने समय घर्केको पनि ७ महिना बढी भइसक्यो । तर अस्तपाल कहिले बन्छ कुनै ठेगान छैन । अस्पतालको भवन निर्माणको लागि १ करोड खर्च गरेर जग निर्माण गरिएको छ । १ करोडको जग मात्र कस्तो होला ? जो अधुरो छ । जगको मात्र पनी निर्माण पुरा हुन सकेको छैन । नेपाल सरकारको गौचरण रहेको स्थानमा अस्पतालको भवन निर्माणको लागी जग हालिएको छ । आर्थिक पक्ष मात्रै होइन यसको कानूनी पक्ष समेत कमजोर छ ।

सर्वसाधारणका लागि सामान्य घर बनाउनुपूर्व नै समेत नक्सा तयार गरी नगरपालिकाबाट स्विकृत गराउनु पर्ने अनिवार्य नियम बनाएको नगर सरकारले आफ्नै नियमको धज्जी उठाएको छ । यत्रो अस्पतालको भवन निर्माण गर्दा उसले न त डीपीआर तयार गरेकोे छ, न त नक्सा नै छ । यस पहिलेका जनप्रतिनिधिले डीपीआर विनै भवनको जग बसालेका हुन् । अहिले घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले पहिलेका जनप्रतिनिधीहरुको पालामा केही प्रक्रिया नपु¥याएर अस्पताको भवन निर्माणको ठेक्का गरिएकोले ढिलाई भएको बताएका छन् । साथै बाँकी प्रक्रिया पुरा गरेर निर्माण कार्य अगाडी बढाउने योजना छ ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयले यो अस्पताल निर्माण गर्न भनि १९ करोड ९० रकम बिनियोजन गरेको थियो । जसमा २ वर्ष भित्र निर्माणको काम सम्पन्न गर्ने गरी २०७८ साल बैशाखमा घोडाघोडी नगरपालिकाले ठेक्का मार्फत राजेन्द्र निर्माण सेवासंग ९ करोड ५० लाखमा सम्झातौ भएको थियो । निर्माणमा ठेकेदार कम्पनीको समेत चरम लापरबाही देखिएको छ । उता दुवै कार्यकालका जनप्रतिनिधिहरुको चरम लापरबाहीको कारण अस्पताल निर्माण कार्य अलपत्र परेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

अस्पताल जस्तो संवेदनशिल ठाउँमा पनि जनप्रतिनिधिको यस किसिमको लापरवाहीले जनस्वास्थ्यप्रतिको खेलाचीलाई प्रष्ट देखाउछ । नगरवासीको स्वास्थ्य सुविधाकालागि नगर सरकारको यस किसिमको कमजोर प्रस्तुतिमा सुधार ल्याउने कि ? न्युज २४ नेपाल टिभी !

  • मिसन संवाददाता
  • -