सूर्यदर्शन सहकारीमा रकम डुबेपछि विक्षिप्त र रोगी बनेका एक पीडितले ज्यान गुमाउँदा उनको परिवारलाई काजकिरिया उम्काउन पनि सकस परेको छ। लमजुङको श्रीभन्ज्याङ स्थायी घर भइ पोखराको घारीपाटनमा बस्दै आएका ६० वर्षीय वीरबहादुर मगरको यही पुस १३ गते निधन भएको हो। निधनपछि उनको परिवारलाई काजकिरिया उम्काउन धौ–धौ भएको हो। सूर्यदर्शन सहकारीमा वीरबहादुरकामे २३ लाख रुपैयाँ फसको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए।
वीरबहादुर पोखरामा गाडी चलाउँथे। लामो समय गाडी चलाएका उनले जम्माजम्मी २३ लाख रुपैयाँजति बचाएका थिए। बचेको पैसाबाट उनले पोखराकै लेखनाथको शिशुवामा घडेरी किने।
वीरबहादुरको परिवार भाडाको कोठामा बस्छन्। दुई वर्षदेखि कोठा भाडा तिर्न सकेका छैनन्। श्रीमतीसहितको ३ जनाको परिवारमा आम्दानीको अर्को स्रोत छैन। काजकिरिया बस्दा चाहिने खर्च नै नभएपछि संघर्ष समितिले नै संकलन गरेर ९ हजार ९ हजार ७५ रुपैंंया भेटीस्वरुप प्रदान गरिएको किरणले बताए।
सूर्यदर्शन त्यही सहकारी हो, जसबाट गोर्खा मिडिया प्रालिको नाममा ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरिएको थियो। सहकारीका अध्यक्ष गीतेन्द्रबाबु राई सो टेलिभिजनका पनि अध्यक्ष थिए। हालका सांसद रवि लामिछाने एकसमय यो टेलिभिजनका हर्ताकर्ता थिए।
सूर्यदर्शनले पोखराबाट मात्र बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पोखरा महानगरपालिकाले गरेको छानबिन समितिको निष्कर्ष छ। सहकारीका बचतकर्ताले आफ्नो बचत रकम फिर्ताको लागि सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि गुहारेका थिए। तर, उनीहरुको रकम फिर्ता भएको छैन।