ग्लोबल आईएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

  • मिसन संवाददाता
  • सोमवार, पुस १६, २०८० १२:४३
ग्लोबल आईएमई बैंकले क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट दिने

ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सव शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गर्दै मनाएको छ । आमजनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

यही पुस १७ गतेदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भई १७औँ वर्षमा प्रवेश गर्दै छ । काठमाडौँमा आयोजित प्रभातफेरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति थियो ।

वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीहरूले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यकाबाहिर मुख्यमुख्य शहरहरू परिक्रमा गरेका थिए ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरूअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।

ग्लोबल आईएमई बैंकले हाल देशभर रहेका आफ्ना ३५५ वटा शाखा कार्यालय, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकमा करिब ४ हजार कर्मचारीहरू कार्यरत छन् भने बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा १ हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार ग्राहकहरूलाई यही पुस १६ देखि माघ १७ गतेसम्मका लागि बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा १ हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराइनेछ ।

यसका साथै, वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरूले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलोपटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँसम्मको छुट प्रदान गर्नेे योजना सार्वजनिक गरेको छ ।

यो क्यासब्याक योजना पुस १७ देखि २३ गतेसम्म लागू हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंकले हाल देशभर रहेका आफ्ना ३५५ वटा शाखा कार्यालय, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

  • मिसन संवाददाता
  • -