अख्तियारमा उजुरी परेका ‘किर्तेवाला जर्नेल’ को बिदाई कि बढुवा ?

  • मिसन संवाददाता
  • सोमवार, पुस १६, २०८० १३:२५
अख्तियारमा उजुरी परेका ‘किर्तेवाला जर्नेल’ को बिदाई कि बढुवा ?

शान्ति सेनामा फोर्स कमाण्डर रहेका नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई ३ तारे लेफ्टिनेन्ट जनरलमा बढुवाका लागि सिफारिस गरिएको छ । ‘सैनिक ऐन,२०६३’ को परिच्छेद ४ को दफा २१ तथा ‘सैनिक सेवा नियमावली, २०६९’ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम सैनिक साधारण सेवातर्फ रिक्त पदमा बढुवाका निम्ति उनको नाम सिफारिस गरिएको हो ।

ब्याच नम्बर १६२९ का थापाको बढुवा सिफारिस निर्णयउपर चित्त नबुझेमा उजुरी दिन सैनिक सचिव विभागले आह्वान गरेको छ । जारी सूचनामा सैनिक सेवा नियमावली, २०६९ को नियम ४४ मा व्यवस्था भएबमोजिम निवेदन दिनुपर्ने उल्लेख छ ।

तीन जना सहायक रथी उपरथी पदमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले सीमा अनुगमन तथा सर्भे निर्देशनालयमा कार्यरत सहायक रथी ब्याच नम्बर १९२८ का सुनिल श्रेष्ठको नाम सिफारिस गरेको छ ।

सुरक्षा तथा समारोह व्यवस्था कार्यालय, राष्ट्रपतिको सचिवालय (काज–नेपाली सैनिक वार कलेज) का सहायक रथी पवनराज घिमिरे र सैनिक ईन्टेलिजेन्स निर्देशनालयका सहायक रथी चोकबहादुर ढकाल पनि बढुवा सिफारिसमा परेका छन् । ब्याच नम्बर १८५६ का सहायक रथी घिमिरे र १९६४ का ढकाललाई उपरथी पदमा पदोन्नत गर्न लागिएको हो ।

बढुवाको क्रममा चार जना महासेनानीलाई सहायक रथी पदमा पदोन्नतिका लागि सिफारिस गरिएको छ । सिफारिसमा पूर्वी पृतना हेडक्वार्टरका महासेनानी पुरन घले,निरीक्षण निर्देशनालयका महासेनानी राजेन्द्र श्रेष्ठ, सैनिक आवासीय महाविद्यालय,भक्तपुरका महासेनानी नारायणबहादुर थापा, नम्बर १६ बाहिनी अड्डाका महासेनानी रामचन्द्र थापा छन् ।

उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेपछि नेपाली सेनाका उच्चाधिकारीहरु विवादै विवादमा रहेको पुष्टी भएको छ ।

थापाविरुद्ध अख्तियारमा पूर्व सैनिक अधिकृतहरुले प्रवीणता प्रमाण पत्र तह (आईए) को शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिएका हुन् । उनले भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली प्रमाणपत्र ल्याएर २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई फोर्स कमान्डर नियुक्त गरेका छन् । महासचिव गुटेरेसले थापालाई सिरिया र इजरायलबीचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरुलाई ‘यूएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् ।

उपरथी थापाअघि फोर्स कमान्डरको जिम्मेवारी ६ सैनिक अधिकृतहरूले सम्हालिसकेका छन् । रथी ईश्वर हमाल अहिले ‘फोर्स कमान्डर’ छन् । पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा तथा अन्य जर्नेलहरूमा बालानन्द शर्मा, कृष्णनारायण थापा, भिक्ट्रीशमशेर राणा, पवनजंग थापा र ईश्वर हमाल हुन् । यस्तै, नेपालको तर्फबाट उच्च तहमा पूर्व रथी सीबी गुरुङले यूएनका पूर्व महासचिव कोफी अन्नानअन्तर्गत रहेर ‘मिलिटरी एड्भाइजर’ को रूपमा काम गरेका थिए ।

  • मिसन संवाददाता
  • -