रविले उठाए नैतिकताको प्रश्न

  • मिसन संवाददाता
  • सोमवार, पुस १६, २०८० १३:३३
रविले उठाए नैतिकताको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह प्रशासनले दुई जना युवाको हत्या गरेको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्‍था तथा सुशासन समितिमा सोमबार बोल्दै उनले भने, ‘गृहमन्त्रीज्यू, तपाईंलाई म स्पष्ट भन्न चाहन्छु। तपाईं नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गर्‍यो।’

पूर्वगृहमन्त्रीसमेत रहेका उनले प्रहरी प्रशासनसँग भीडलाई नियन्त्रण गर्न सक्ने क्षमता भएको बताए। तर नेतृत्वको कमीकमजोरीका कारण घटना भएको र त्यस घटनापछि प्रशासनले मन्त्री श्रेष्ठलाई गम्भीरतापूर्वक नलिने उनले बताए।

गृहमन्त्री श्रेष्ठ र प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले गोली कतिखेर चलेको भन्ने यकिन नभएको भनेको भन्दै आलोचना पनि गरेका थिए। उनले गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि पनि प्रश्न उठाएका थिए। ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म त्यता जादिनँ,’ उनले भने।

गोली चलेर मानिस ढलिसकेपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको भिडिओहरू बाहिरिएको लामिछानेले बताएका छन्।

बालकुमारीमा गत शुक्रबार भएको घटनामा दुई जना युवकको मृत्यु भएको थियो।

  • मिसन संवाददाता
  • -