नेपालमा नयाँ वर्ष मनाउन आएका २ जना भारतीयको मृत्यु

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १७, २०८० ११:४२
नेपालमा नयाँ वर्ष मनाउन आएका २ जना भारतीयको मृत्यु

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। सोमबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार ठक्कर दिएको थियो।

अम्लेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले बागमतीको नुनथरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिएको थियो। ट्यांकरको ठक्करबाट अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते उनीहरुको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरु दुवै जना अंग्रेजी नयाँ वर्ष मनाउन बागमतीको नुनथर आएका थिए। प्रहरीका अनुसार टेम्पोमा ६ जना सवार थिए। दुर्घटनामा टेम्पो चालक सर्लाहीको बागमती नगरपालिका–६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनीसहित घाइते भएका छन्।

घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। अटोलाई ठक्कर दिने ट्यांकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • मिसन संवाददाता
  • -